हाम्रो स्वतन्त्र उम्मेदवारी दलीय सिण्डिकेटविरुद्ध हो : प्रभु साह
जनकपुरधाम-पूर्वमन्त्री प्रभु साहले आफूसहित स्वतन्त्र उम्मेदवारहरूको उम्मेदवारी दलीय सिण्डिकेटविरुद्ध भएको बताएका छन् । रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार साहले परिवर्तनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएकाे बताएका हुन् ।
सोमबार जनकपुरधाममा आयोजित 'स्वतन्त्र उम्मेदवार जिताऊ' अभियानकाे बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साहले भने, 'स्वतन्त्र अभियानमा लागेका साथीहरू सांसद बन्न होइन गठबन्धनको नाममा गरिएको दलीय सिण्डिकेटविरुद्ध परिवर्तनका निम्ति हो ।'
साहले २००७ देखि देशमा परिवर्तनका विभिन्न अधिकारवादी आन्दोलनले व्यवस्था परिवर्तन भएर अवस्था उही पंचायती शैलीमै विद्यमान रहेको भन्दै पहिला एउटा राजा थियो, अहिले कथित ठूला दलका ५/६ जना राजा बन्न खोजेकाे आराेप लगाए ।
उनले आफू सांसद बन्ने रहरले उम्मेदवारी दिएको नभएकाे बताए । 'म जुन पार्टीबाट लडेँ जित्न सक्छु, त्यसैले मलाई दुवै गठबन्धनले बोलाई रहेपनि म नगएको एउटै कारण हो जनताका निम्ति काम गर्न,' उनले भने, 'देशमा देखिएका राजनीतिक समस्या समाधान तथा विकासका लागि पनि मैले स्वतन्त्र अभियान चलाएको हुँ ।'
साहले आफू दलमा रहँदा दलका विरुद्ध बोल्न नपाइने, दलका ठूला नेताले जे भने जे गरे सबैमा सहमति जनाउनु पर्ने अर्थात जनताका लागि होइन दलको रिमोट कन्ट्रोलको रूपमा काम गर्ने अवस्था भएकाले आफू दलको रिमोट कन्ट्रोल होइन जनताको सिपाहीको रूपमा काम गर्न स्वतन्त्र उम्मेदवार जिताउ अभियान चलाएको उल्लेख गरे ।
त्यस्तै कार्यक्रममा उपस्थित स्वतन्त्र अभियानका सहयोगी बद्री न्यौपानेले सत्ता र आफ्नो पद स्थायित्व राख्न जे पनि गर्न तयार रहेको कुरा अहिले ठूला दलले गरेको अपवित्र गठबन्धनले प्रष्ट भइरहेको बताए ।
उनले मधेश केन्द्रित दललाई लक्षित गर्दै भने, 'हिजोका दिनमा जुन मधेशवादी दल एमालेलाई प्रतिगमनकारी शक्ति भनेर मधेशमा प्रवेश निषेध गरेको थियो । आज तिनीहरूले गठबन्धनको नाममा एमालेलाई टाउकोमा बोकेर हिँडिरहेको कुराले मधेशी जनतालाई हिजोका दिनमा मुर्ख बनाएको प्रष्ट भइरहेको छ ।'
स्वतन्त्र उम्मेदवार श्रीलाल महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनुषा ३ प्रतिनिधि सभाका उम्मेदवार उमेश साह र महोत्तरी ३ (क) प्रदेश सभाका उम्मेदवार सुनिल रोहित लगायतका स्वतन्त्र उम्मेदवारहरूले देशमा परिवर्तनका निम्ति स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया