सर्लाही- २ का उम्मेदवार महेन्द्र राय यादवविरुद्ध प्रदर्शन
जनकपुरधाम- सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार एवं पूर्व मन्त्री महेन्द्र राय यादवको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवामा विरोध प्रदर्शन भएको छ ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रको गोलाकार भित्र हँसिया हथौडा छाप लिएर उम्मेदवार भएका नेपाल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष महेन्द्र राय यादवको चुनाव प्रचारप्रसार गाडीको ठक्करबाट एक युवकको मृत्यु भएपछि पीडित पक्षले विरोध प्रदर्शन गरेका हुन् ।
आइतबार यादवको चुनाव प्रचारप्रसारमा रहेकाे भारतीय नम्बर प्लेटको बीआर ३० पी ९०८२ नम्बरको स्कारपियो पूर्व–पश्चिम हुलाकी सडकको सखुअवा र भेल्हीको बीचमा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भारत सीतामढीका २२ वर्षीय नेक महम्मदको मृत्यु भएको थियो ।
घटना पश्चात पीडित पक्षले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै बुधबार सदरमुकाम मलंगवाको शहीद चोकमा 'महेन्द्र राय यादव मुर्दावाद', 'हँसिया हथौडी मुर्दावाद', 'दोषीलाई कारबाही गर', 'महेन्द्र राय यादवको उम्मेदवारी खारेज गर' लगायतका नाराबाजी गर्दै टायर बालेर घण्टौं विरोध प्रदर्शन गरे ।
ठक्कर दिने गाडी नेसपा उम्मेदवार यादवकै रहेको पुष्टि जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय श्रेष्ठले गरेका छन् । उनले नियन्त्रणमा लिएकाे ठक्कर दिने गाडीमा गोलाकार भित्र हँसिया हथौडा छाप रहेकाले सो छापबाट यादव नै उम्मेदवार रहेकाले उनको चुनाव प्रचारप्रसारको गाडी रहेको खुल्न आएको हो ।
पीडित पक्षले दोषीलाई कारबाही र उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझे अडान लिएका कारण शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मलंगवा नगरपालिका–९, का १२ वर्षीय असलम सफीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
यसैबीच प्रहरीले घटनाकै दिन ब्रम्हपुरी गाउँपालिका–३ बाट राति ११ बजेतिर स्कारपियो नियन्त्रणमा लिए पनि चालक अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको डीएसपी विजय श्रेष्ठले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया