धनुषा २ मा जसपाका गंगारामलाई आफ्नै छोराले समस्या
जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ प्रतिस्पर्धामा रहेका जनता समाजवादी पार्टीका उम्मेदवार गंगाराम भनिने आनन्द यादवलाई आफ्नै छोराका कारण समस्या भएको छ ।
यादवका छोरा अमित यादव नेकपा एमालेमा प्रवेश गरेपछि उनलाई ठूलाे धक्का लागेको छ । यादवका दुई श्रीमतीमध्ये जेठीपट्टीका छोरा अमित यादवले 'परिवारलाई न्याय गर्न नसक्ने नेताले क्षेत्र र देशवासीलाई कसरी न्याय गर्न सक्छ' भनी आफ्नै बुवाका विरुद्धमा एमाले उम्मेदवारसँग मत माग्दै हिँडेका छन् ।
कान्छी श्रीमतीपट्टीका सन्तानहरूले बुवा गंगारामका लागि चुनावको प्रारम्भिक चरणमा बनाएको अनुकूल वातावरणलाई अमितले बीचमै एमालेमा प्रवेश गरेर बिथोली दिएका छन् । छोरा नै बुवाका विरुद्धमा लागेपछि स्थानीय मतदाताको पनि मनसाय परिवर्तन हुँदै गएको देखिएको छ ।
स्थानीय मतदाता विनोद यादव भन्छन्, 'सुरुमा गंगारामप्रति आफूहरूको सहानुभूति थियो तर उहाँविरुद्ध आफ्नै छोरा लागेपछि अब हामी जस्ता धेरैको मानसिकता परिवर्तन हुँदै गएको छ ।' चुनावको समय नजिकिँदै गएका बेला गंगारामलाई परिवारबाटै विद्रोह भएपछि चुनौती थपिएको छ ।
अमित यादवले पैतृक सम्पतिमा सम्मानजनक हिस्सेदारी नदिएको भन्दै बुवा गंगारामविरुद्ध लागेका छन् । एमालेले बुवा गंगाराम र छोरा अमितको विवादलाई सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गरेर फाइदा उठाइरहेको स्थानीय बताउँछन् ।
एमाले-जसपा गठबन्धन दल रहेपनि सो क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा रहेका कारण गठबन्धन भएको छ । एमालेबाट उमाशंकर अरगरिया उम्मेदवार छन् भने जसपाबाट गंगाराम यादव उम्मेदवार छन् । सो क्षेत्रमा पाँच दलीय सत्तारूढ गठबन्धनको पनि गठबन्धन छैन । कांग्रेसबाट पूर्वमन्त्री समेत रहेका रामकृष्ण यादव र नेकपा एसबाट रामचन्द्र यादव उम्मेदवार छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया