मधेश

आचार संहिता पालना गरिदिन पत्रकारलाई आयोगको आग्रह

सुभाष कर्ण |
कात्तिक १८, २०७९ शुक्रबार १९:० बजे

जनकपुरधाम- आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यकाे निर्वाचनका लागि पत्रकारहरूला‍ई आचार संहिता पालना गरिदिन निर्वाचन आयोगले आग्रह गरेको छ ।

शुक्रबार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले स्वच्छ तथा निष्पक्ष रूपले भयरहित वातावरणमा निर्वाचन सम्पन्नमा सबैको जिम्मेवारी रहेपनि मिडिया तथा पत्रकारको ठूलो भूमिका रहेको बताए । उनले पेशागत संगै निर्वाचन आचार संहिता पालना गर्न आवश्यक रहेको जिकिर गरे ।


उनले भने, 'निर्वाचन मात्र होइन अन्य कुरामा पनि मिडियाको ठूलो भूमिका रहेकाे छ । तर, अहिले केही अनलाइन लगायतका सञ्चार माध्यममा गलत सूचना र पक्ष विपक्षमा सम्प्रेषण गर्ने गरेका कारण जनतामा नकारात्मक सन्देश जाने गरेकाले यसलाई नियन्त्रण गर्न आवश्यक छ ।'

उनले अगाडि भने, 'केही अनलाइन र सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट निर्वाचन गलत हो भन्ने जनतामा भ्रम पार्ने खालका समाचार तथा सूचना सम्प्रेषण भइ रहेकाले त्यस्ता भ्रम चिर्न जनतामा निर्वाचन हरेक नागरिकको मताधिकारसहितका सूचना तथा समाचार मिडियाले सम्प्रेषण गरेर जनतालाई बुझाउन आवश्यक छ ।'

कार्यक्रममा निर्वाचन कार्यालय धनुषाका निर्वाचन मुख्य अधिकृत ब्रजेश प्याकुरेलले मिडिया हाउस र पत्रकारहरू स्वतन्त्र हुने तर अहिले निर्वाचनमा केही पत्रकारहरू पक्षमा लागेर काम गरिरहेको देखिएको आरोप लगाउँदै त्यस्तो नगरिदिन आग्रह गरे ।

'निर्वाचनका क्रममा कुनै उम्मेदवार वा निकायले आचार संहिताविपरीत कार्य गरिरहेको छ भन्ने त्यसलाई मिडिया तथा पत्रकारहरूले नै उजागर गर्ने हो । मतदाता शिक्षा लगायत निर्वाचनका सकारात्मक पक्षबारे समाचार सम्प्रेषण भए अझ प्रभावकारी हुन सक्नेछ,' उनले भने ।

उम्मेदवारहरूबाट बालबालिकाको प्रयोग, विदेशी गाडीको प्रयोगसहित व्यापक रूपमा आचार संहिता उल्लंघन भइरहेपनि आयोगले केहीलाई स्पष्टीकरण बाहेक कुनै कारबाही प्रक्रिया अघि नबढाएको आरोप अभिमुखीकरणमा सहभागी विभिन्न सञ्चार माध्यमका पत्रकारहरूले लगाएका थिए ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका सम्पादकले निर्वाचनमा पत्रकार खेल्न सक्ने भूमिका र आचार संहिता पालनाबारे सहभागी पत्रकारहरूलाई जानकारी गराएका थिए भने नेपाल पत्रकार महासंघ धनुषाका कार्यवाहक अध्यक्ष अवधेश कामत र मधेस प्रदेश निर्वाचन आयोग कार्यालयका प्रमुख श्रीधर पन्थीले सञ्चाचारकर्मीले निर्वाचनमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x