Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

धनुषाका कुन क्षेत्रमा को बलियो, यस्तो छ हिसाब किताब

सुभाष कर्ण |
कात्तिक २६, २०७९ शनिबार १८:१८ बजे

जनकपुधाम । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा धनुषाको निर्वाचन क्षेत्रहरुमा यसपटक सत्तारुढ र प्रतिपक्षी गठबन्धनबीच कडा प्रतिष्पर्धा रहेको देखिएको छ ।

जिल्लाको क्षेत्रहरुमा सत्तारुढ गठबन्धनकै वर्चस्व देखिएको छ । कतै–कतै जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको माहोल पनि देखिन्छ । जित हार हुने यी दुई गठबन्धनमा जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले राम्रै भूमिका हुनसक्ने पनि आँकलन गरिएको छ ।


जिल्लामा रहेका चार प्रतिनिधि सभा क्षेत्रमा दलीय र स्वतन्त्र गरी १ सय एक जना उम्मेदवार रहेका छन् । यी उम्मेदवारमध्ये स्वतन्त्रतर्फका अधिकांश दलीय पक्षका डमी उम्मेदवार हुन् । जसले दलीय उम्मेदवारका लागि चुनाव प्रचार प्रसारमा गाडी उपलब्ध गराउन भूमिका खेलेको छ ।

स्थानीय सर्वेक्षण अनुसार धनुषाको यी चार निर्वाचन क्षेत्रमध्ये अधिकांशमा नेपाली कांग्रेस नेतृत्वका सत्तारुढ गठबन्धन बलियो छन् त कतै एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन प्रतिष्पर्धामा छन । तर गत स्थानीय तहको सम्पन्न निर्वाचन परिणाम अनुसार हरेक निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन नै मजबुत स्थितिमा रहेको छ ।

मधेश प्रदेशका अन्य जिल्लासहित धनुषामा पनि मधेशवादी दल गठबन्धनकै भरमा चुनाव जित्ने दाउमा छन् । तर क्षेत्र नम्बर २ र ४ प्रतिपक्षी गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनको भर नगरी आफ्नै बुतामा चुनाव जित्ने सोचका साथ उम्मेदवार खडा गरेका छन ।

सत्तारुढ गठबन्धनको कोटाबाट पाएका क्षेत्र नम्बर ३ मा मात्र मधेशवादी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले उम्मेदवार दिएका छन् भने जसपाले प्रतिपक्षी गठबन्धनबाट क्षेत्र नम्बर १ मात्र पाएका छन । अन्य क्षेत्र नम्बर २ र ४ मा मित्रवत प्रतिष्पर्धा गठबन्धनविरुद्ध नै आफ्ना उम्मेदवार उतारेका छन् ।

क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मातृका यादव र प्रतिपक्षी गठबन्धनबाट जसपाका दिपक कार्कीबीच प्रतिष्पर्धा छ । यहाँ जनमत पार्टीका उम्मेदवार किशोरी साह कमल पुराना एमाले नेता भएको कारणले जितहारमा महत्वपूर्ण भूमिका खेल्ने छ । जसपा उम्मेदवार कार्कीलाई आफ्नै पार्टीका बागी उम्मेदवार साधु यादवले प्रभाव पार्न सक्ने भएकाले मातृका यादवको अवस्था मजबुत स्थितिमा रहेको आंकलन गरिदैछ ।

क्षेत्र नम्बर २ मा रोमाञ्चक चौकोणात्मक प्रतिष्पर्धा छ । गठबन्धनले काम नगरेपछि यहाँ कुनैपनि उम्मेदवार एक अर्कासँग कमजोर छैनन् । दुवै गठबन्धन दलबाट उम्मेदवार रहेकाले जनताको मत पनि विभाजन भएकाले कुन उम्मेदवार मजबुत स्थितिमा छन भन्ने सक्ने अवस्था छैन ।

तर पनि यहाँ सत्तारुढ गठबन्धन दल कांग्रेसबाट उम्मेदवार रामकृष्ण यादवलाई गठबन्धनका अन्य दल लोसपा र माओवादी मत आउन सक्ने भएकाले माहोल उनको पक्षमा बलियो देखिन्छ । गठबन्धनकै अर्का नेकपा एकीकृत समाजवादी पार्टीबाट रामचन्द्र झालाई मैदानमा छन् । प्रतिपक्षी गठबन्धन दल एमालेबाट उमाशंकर अरगरिया र जसपाबाट आनन्द यादव भन्ने गंगाराम भिडेका छन् । यी दुवैको मत काटाकाटमा रामकृष्ण अगाडि आउन सक्ने विष्लेषणसमेत गरिएको छ ।

क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनबाट लोसपाका अनिल झा र प्रतिपक्षी गठबन्धनबाट एमालेकी जुली महतोबीच कडा प्रतिष्पर्धा रहेको छ । सत्तारुढ गठबन्धन उम्मेदवारलाई जिताउन कांग्रेस पूर्व उपसभापति विमलेन्द्र निधि आफ्नो विरासत जोगाउन कसरतमा जुटेका छन् । यी दुई गठबन्धन बाहेक स्वतन्त्र उम्मेदवार उमेश साह पनि प्रतिष्पर्धामा छन्। 

क्षेत्र नम्बर ४ मा पनि सत्तारुढ गठबन्धन नै मजबुत स्थितिमा देखिएको छ । प्रतिपक्षी गठबन्धन दल एमाले र जसपा दुवैले आफ्नो उम्मेदवार खडा गरेको कारण एमाले उम्मेदवारलाई यहाँ घाटा हुन सक्छ । एमाले उम्मेदवार महासेठले अघिल्लो निर्वाचनमा जित हात पारेका थिए । तर यसपटक अवस्था फरक छ । त्यो बेला वाम गठबन्धन माओवादी, विभाजित भएका नेकपा एसको मत पनि थियो । तर यसपटक माओवादी र नेकपा एसको साथ कांग्रेसलाई रहेको छ ।

यसअघि २०७४ को निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ मा वाम गठबन्धन नेकपाबाट माओवादी केन्द्रका मातृका यादव, २ बाट तत्कालीन संघीय समाजवादी पार्टीका उमाशंकर अरगरिया, ३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का राजेन्द्र महतो र ४ बाट एमालेका रघुवीर महासेठ विजयी भएका थिए ।

स्थानीय तह निर्वाचनकाे परिणाम यस्ताे छ

धनुषा क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्की गत २०७४ सालको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । गत २०७४ सालको निर्वाचनमा यादव २६ हजार चार सय १८ मत प्राप्त गरी विजयी हुँदा कार्कीले १७ हजार दुई सय ९६ मत प्राप्त गरेका थिए ।

गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेकाको मतलाई जोड्दा कांग्रेसले १७ हजार पाँच सय ५०, एमालेले १५ हजार आठ सय १७, माओवादीले १२ हजार दुई सय ९२ र जसपाले नौ हजार १०, लोसपाले छ हजार ६ सय २४ र नेकपा एसले दुई हजार नौ सय ३७ मत प्राप्त गरेको थिए । जनमत पार्टीले तीन हजार तीन सय २०, एकीकृत समाजवादीले र स्वतन्त्र उम्मेदवारले तीन हजार तीन सय २४ प्राप्त गरे ।

स्थानीय तहबाट यी मतको आंकलन गर्ने हो भन्ने सत्तारुढ गठबन्धन मजबुत स्थितिमा छन् । उनले कांंग्रेस, माओवादी, लोसपा, नेकपा एस गरी कूल ३६ हजार ७ सय ५९ मत पाएका छन भने प्रतिपक्षी गठबन्धनले २४ हजार ८ सय २७ मत मात्र पाएका छन । सत्तारुढ गठबन्धन दलहरुबाट अन्तरघात नभए मातृका यादवको सम्भावना हुनसक्छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचन तत्कालीन संघीय समाजवादी फोरमबाट ३२ हजार ४४ मतका साथ उमाशंकर विजयी भएका थिए भने नेकपा माओवादी केन्द्रका रामचन्द्रले १८ हजार ७१५ मत र कांग्रेसबाट रामकृष्ण यादव १५ हजार ४४२ मतका साथ पाएर तेस्रो स्थानमा थिए ।

गत स्थानीय निर्वाचनको ४४ वटै वडाको मत जोड्दा जसपा भन्दा कांग्रेसको मत झन्डै साढे सात हजारले बढी छ । कांग्रेसले २१ हजार २३२ र जसपाले १३ हजार ८८९ मत पाएका थिए । तेस्रोमा एमालेले ११ हजार ५८३, चौथोमा माओवादी केन्द्रले १० हजार ७९४, पाँचौँमा एकीकृत समाजवादीले ८ हजर ९९७ मत पाएका थिए । सबैभन्दा कम लोसपाले ६ हजार ७१३ मत पाएको थियो ।

धनुषा क्षेत्र नं. ३ मा गत स्थानीय तहको नतिजा हेर्ने हो ३८ वटा वडाको वडाध्यक्ष पदमा पार्टीहरुले पाएको मत जोड्ने हो भने पहिलो स्थानमा कांग्रेस देखिन्छ । उसको २२ हजार ४ सय २९ मत छ । दोस्रोमा एमालेको १६ हजार १६ मत छ । जसपाले ८ हजार २ सय २४ र लोसपाले १ हजार १ सय ६३ मत प्राप्त गरेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले ३ हजार ७१३ र सबभन्दा कम नेकपा माओवादी केन्द्रले ६५६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकमा छ । कुल मत जोड्दा पाँच दलीय गठबन्धन बलियो देखिन्छ ।

यता क्षेत्र नम्बर ४ मा गत निर्वाचनमा २२ हजार ५३२ मत ल्याएर महासेठ विजयी भएका थिए भने महेन्द्रले १९ हजार ९९१ मत प्राप्त गरेका थिए, तेस्राे स्थान तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का महाजन यादवले १९ हजार ६६२ मत ल्याएका थिए ।

यस क्षेत्रमा रहेको कुल ४९ मध्ये गत स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी कांग्रेसले २४ वटा वडा जितेर वडाध्यक्षतर्फ २९ हजार १ सय ९ मत ल्याएर अग्रस्थानमा छन । एमालेले एमालेले १२ वटा वडा जितेर २७ हजार ७ सय ६० मत पाएको छ । ५ वटा वडा जितेको जसपाले त्यो निर्वाचन क्षेत्रमा ८ हजार ७ सय ७७ मत ल्याएको छ । एउटा वडा जितेको लोसपाका वडाध्यक्ष पदका उम्मेदवारहरूले २ हजार १ सय ४० मत प्राप्त गरेका छन् । ३÷३ वटा वडा जितेको माओवादी र एकीकृत समाजवादीको क्रमशः ५ हजार ७ सय ५४ र ९ हजार ३ सय ३५ मत छ ।

स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत हेर्ने हो भने त्यो क्षेत्रमा एमालेभन्दा दोब्बर मत भएको कारण कांग्रेस नै बलियो देखिन्छ । सबैभन्दा बढी मत पाएको नेपाली कांग्रेस र गठबन्धन दल नेकपा एस, लोसपा र माओवादीको मत जोड्दा कुल ४६ हजार ३ सय ३८ मत आउँछ भने एमालेको मात्र २७ हजार ७ सय ६० मत रहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x