मधेशमा निर्वाचनका लागि ३३ हजारभन्दा बढी कर्मचारी खटाइए
जनकपुरधाम। आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा ३३ हजार ८ सय ८० जना कर्मचारी खटाइएको छ ।
प्रदेश निर्वाचन कार्यालयले जनाए अनुसार प्रदेशका ४ हजार २ सय ३५ मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएको हो । ८ कर्मचारीमध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहने प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिएका छन ।
मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवक समेत खटाउन जानकारी दिदै जिल्लागत हिसाबले सप्तरीमा ४ हजार २८८ कर्मचारी तोकिएको उनले बताएका छन् । सो जिल्लामा २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी जम्मा ४ लाख १८ हजार ३७४ मतदाता रहेका छन् ।
त्यस्तै, सिरहामा ४ हजार ४० कर्मचारी तोकिएका छन् । सिरहामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६११ महिला र अन्य २ गरी जम्मा ४ लाख २२ हजार ७१२ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
धनुषामा ४ हजार ८४० कर्मचारी खटाइएका छन् । यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका हुन् ।
महोत्तरीका ३ हजार ९९२ कर्मचारी खटेका छन् । जिल्लामा २ लाख १५ हजार १३१ पुरुष, १ लाख ८१ हजार ८९८ महिला र अन्य एक जना गरी कूल ३ लाख ९७ हजार ३० मतदाता कायम भएका छन् ।
उता, सर्लाहीमा ४ हजार ८०० कर्मचारी खटिएका छन् । जहाँ २ लाख ५९ हजार ४१४ पुरुष, २ लाख १९ हजार ६१४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन् ।
रौतहटका ४ हजार १८४ कर्मचारी खटिएका छन् । जिल्लामा २ लाख २७ हजार २२९ पुरुष, १ लाख ८८ हजार २५५ महिला र एक जना अन्य गरी जम्मा ४ लाख १५ हजार ४५५ जनाले आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।
त्यस्तै बारामा ४ हजार ४४० कर्मचारी खटेका छन् । यस जिल्लामा २ लाख ३६ हजार ८८० पुरुष, १ लाख ९६ हजार ६१२ महिला र १२ जना अन्य गरी कूल ४ लाख ३३ हजार ५०४ जनाले मतदान गर्ने भएका छन् ।
पर्सामा ३ हजार २९६ कर्मचारी मार्फत १ लाख ९४ हजार ९०४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कूल ३ लाख ४५ हजार ९२८ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।
मधेश प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन् । प्रदेशका ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेश सभा निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग मंसिर ४ गते मत हाल्ने भएको छ ।
आसन्न निर्वाचनका लागि यस प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया