Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

धनुषामा निर्वाचन सामग्री वितरण सुरु, १२५ अधिकृतले बुझे सामग्री

सुभाष कर्ण |
मंसिर १, २०७९ बिहीबार १९:४४ बजे

जनकपुरधाम- आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्री वितरण आजदेखि सुरु भएको छ ।

मतदान स्थलमा खटेका कर्मचारीलाई मतदानका लागि तयारी छिटो पूरा गर्ने उद्देश्यले निर्वाचन सामग्री वितरण गर्न सुरु गरिएको प्रदेश निर्वाचन आयोगको कार्यालयले जानकारी दिएका छन् । निर्वाचन कार्यालयबाट निर्वाचनमा प्रयोग हुने ५२ प्रकारका सामग्री वितरण गरिएको प्रदेश निर्वाचन आयोग कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।


मत्रपत्र भने मुख्य निर्वाचन कार्यालय अधिकृतको कार्यालयबाट आजैबाट वितरण सुरु गरिएको छ । यो समाचार लेख्दासम्म १ सय ४५ वटा मतदानस्थल मध्ये १ सय २५ वटा मतदान स्थलका अधिकृतहरूले मतपत्र बुझिसकेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ जानकारी दिँदै प्याकुरेलले भने, 'शुक्रबारदेखि मतदान स्थलहरूमा घेरबार गर्ने, सुरक्षा व्यवस्था मिलाउने लगायतका कार्य सुरु हुनेछ ।'

धनुषाको चारवटै निर्वाचन क्षेत्रको मतदानस्थल र मतदान केन्द्रमा निर्वाचनका लागि ४ हजार ८ सय ४० कर्मचारी खटाइएका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएकोमा प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहने जनाइएको छ ।

धनुषामा ३ सय २२ वटा मतदानस्थल र ६ सय ५ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये अतिसंवेदनशील १ सय ९४ वटा, संवेदनशील १ सय ११ र वटा १७ वटा सामान्य मतदानस्थल रहेका छन् ।

निर्वाचनका लागि प्रतिनिधि सभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५ जना, क्षेत्र नम्बर–२ मा १६ जना, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेश सभा १ को (क) मा १४ जना, (ख) मा १४ जना उम्मेदवार छन् भने २ को (क) मा १४ जना र (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० जना र (ख) मा २७ तथा ४ को (क) मा १९ जना र (ख) मा १३ जना उम्मेदवार बनेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x