Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

धनुषामा एक ट्रक मदिरा बरामद

सुभाष कर्ण |
मंसिर १, २०७९ बिहीबार १९:५५ बजे

जनकपुरधाम- निर्वाचन प्रयोजनका लागि ल्याइएका एक ट्रक र एक स्कारपियो मदिरा धनुषा प्रहरीले बरामद गरेको छ ।

आसन्न निर्वाचनको दृष्टिगत गर्दै स्थानीय प्रशासनले मदिरा बिक्री रोक लगाएको एक साता नबित्दै धनुषा प्रहरीले ठूलो मात्रामा अवैध मदिरा बरामद गरेको हो ।
अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई लक्षित गरी मदिरा बिक्रीवितरण, ओसार तथा सेवनमा स्थानीय प्रशासनले गत शनिबारदेखि नै निषेध गरेको छ । तर, निषेध गरेकै अवधिमा धनुषा प्रहरीले एक ट्रक र एक स्कारपियो मदिरा बरामद गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।


उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नंं २२ बसविट्टीबाट ना ६ ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी १ हजार २५ कार्टुन बरामद भएको छ । प्रहरीले गाडीलाई रोकेर चेकजाँच गर्दा सो परिमाणको मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

मदिरा र ट्रकसहित मकवानपुरको मनहरी गाउँपालिका वडा नंं ३ बस्ने चालक वर्ष ३४ का निर्मलकुमार रिजाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मादक पदार्थसहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।

यस्तै, प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका वडा नंं ४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कारपियोबाट ४ कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ ।

गाडी चालक मुखियापट्टी मुसहर्निया वडा नंं ४ बस्ने वर्ष ३० का साहजन यादवलाई प्रहरीले पक्राउ गरेको छ । बरामद मदिरा र गाडीसहित चालक यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रवक्ता कार्कीले जनाएको छ ।

बरामद गरिएका मदिरा निर्वाचनका लागि मतदाता र कार्यकर्तालाई वितरण गर्न ओसारपसार गर्न लागिएको आशंका प्रहरीको रहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x