आचारसंहिता विपरीत आयाेगद्वारा नै बालबालिकाकाे प्रयाेग
जनकपुरधाम- निर्वाचन आयोगले निर्वाचन प्रयाेजन र प्रचारप्रसारमा बालबालिकाकाे प्रयाेगमा राेक लगाएकाे छ । तर, आयाेगद्वारा खटाइएका कर्मचारीमा आचारसंहिता विपरीत निर्वाचन प्रयाेजनका लागि बालबालिकाकाे प्रयाेग गरिएकाे पाइएकाे छ ।
आइतबार हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जनकपुरधाम-१३ पिडारी पछियारी टोलस्थित वैदेही सामुदायिक सेवा समितिमा रहेकाे मतदान केन्द्र निर्माणको काममा बालबालिकाको प्रयोग गरिएको देखिएको हो ।
आयोगले धनुषामा निर्वाचनका लागि ४ हजार ८४० कर्मचारी खटाएको अवस्थामा मतदान केन्द्र निर्माण गर्न बालबालिकाको प्रयोग गर्नु दु:खद रहेको स्थानीय युवा अभियन्ता सराेज मिश्रले बताएका छन् । उनले प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटिए पनि मतदान अधिकृतले निर्वाचनसँग सम्बन्धित काममा बालबालिकाको प्रयोग मजदुरका रूपमा गर्न लगाएर आयोगले बनाएको कानुनलाई नै उल्लंघन गरी गम्भीर गल्ती गरेकाे बताए ।
मतदाता संख्याका आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतलाई ३ देखि ४ जनासम्म स्वयंसेवकसमेत खटाउन पाउने अधिकार प्रदेश निर्वाचन कार्यालयले दिएको अवस्थामा स्वयंसेवकका रूपमा बालबालिकाको प्रयोग गर्नु गलत भएकाे स्थानीय युवा सुशील कर्णले बताए ।
यस सम्बन्धमा वैदेही सामुदायिक सेवा समितिका मतदान अधिकृत रामनारायण चौधरीले आफू उपस्थित नभएका बेलामा त्यहाँ कुनै एक जना बालकलाई मजदुरीको काममा खटाइएको स्वीकार गर्दै भूलसुधार गरिसकेको जानकारी दिए ।
यसअघि उम्मेदवारहरूले पनि निर्वाचन प्रचारप्रसारमा बालबालिकालाई पर्चा वितरणदेखि भित्तामा पोस्टर टाँस्ने काममा समेत प्रयोग गरेको देखिएको थियो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया