मधेश

मधेसमा २ हजार ४७२ मतदान केन्द्र अतिसंवेदनशील

सुभाष कर्ण |
मंसिर ३, २०७९ शनिबार १५:६ बजे

जनकपुरधाम- मंसिर ४ गते आइतबार हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीहरू बिहीबार नै खटिसकेका छन् भने प्रदेश निर्वाचन कार्यालयबाट मतदान सामग्री लिएर मतदानस्थल पुर्‍याइसकिएकाे मधेस निर्वाचन कार्यालयले जनाएकाे छ ।


प्रदेश निर्वाचन कार्यालयले ५८ प्रकारका सामग्री वितरण गरेकाे छ भने मतपत्र पनि बिहीबार नै वितरण गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा २ हजार १५६ मतदानस्थल र ४ हजार २३५ मतदान केन्द्र कायम गरिएकाे छ । जसमध्ये १ हजार २३० अतिसंवेदनशील, ७ सय ७८ संवेदनशील र १ सय ४७ सामान्य मतदान स्थल रहेकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रदेश प्रहरीका अनुसार मतदान केन्द्र मध्ये २ हजार ४७२ अतिसंवेदनशील, १ हजार ४९८ संवेदनशील र २ सय ६५ सामान्य मतदान केन्द्र रहेकाे छ ।

मधेस प्रदेशभरी निर्वाचनलाई लक्षित गरेर ३३ हजार ८ सय ८० जना कर्मचारी खटाइएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका ४ हजार २३५ मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएको हो । ८ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन् ।

मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवकसमेत खटाउन पाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए ।

जिल्लागत हिसाबले सप्तरीमा ५ सय ३६ मतदान केन्द्र, सिरहामा ५ सय ५ मतदान केन्द्र, धनुषामा ६ सय ५ मतदान केन्द्र, महोत्तरीमा ४ सय ९९ मतदान केन्द्र, सर्लाहीमा ६ सय मतदान केन्द्र, रौतहट ५ सय २३ मतदान केन्द्र, बारामा ५ सय ५५ मतदान केन्द्र र  पर्सामा ४ सय १२ मतदान केन्द्र रहेकाे छ ।

 प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन् । प्रदेशका ३२ प्रतिनिधि सभा तथा ६४ प्रदेश सभा निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनमा १८ लाख २७ हजार ८ सय ५४ पुरुष, १५ लाख ५८ हजार ७४ महिला र ७० जना अन्य मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएकाे छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x