मधेश

सरकारकारी निर्देशनविपरीत जनकपुरमा निजी विद्यालयहरूले परीक्षा लिदैं

सुभाष कर्ण |
बैशाख १०, २०७८ शुक्रबार १८:२६ बजे

फाइल तस्‍बिर

जनकपुरधाम : कोभिड-१९ संक्रमण पुन: बढिरहेका बेला जनकपुरधामस्थित निजी विद्यालयहरूले परीक्षा सञ्‍चालन गरेका छन् । सरकार र जिल्ला कोभिड संकट व्यवस्थापन समिति(डिसीसीएमसी)को निर्णयविपरीत जनकपुरस्‍थित निजी विद्यालयहरूले बैशाख १० गते (शुक्रबार)बाट परीक्षा सञ्‍चालन गरेका हुन् ।

सरकार र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले वैशाख १० गते भित्र परीक्षा लिइ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको गरेको थियो । प्राथमिक तथा माध्‍यामिक विद्यालयहरूले अहिले परीक्षा सञ्‍चालन गरिरहेका छन् । जनकपुरधाम उपमहानगरपालिका शिक्षा इकाई प्रमुख अन्जु पाण्डेले पनि निजी विद्यालयको मनपरी तवरले परीक्षा सञ्‍चालन गरेको बताइन् । '१० गते भित्र नै परीक्षा लिइ सक्नुपर्ने निर्णय गरेका थियौं,' उनले भनिन्, 'तर निजी विद्यालयहरूले मानेन्, कारबाही गर्ने अधिकार हामीलाई छैन ।'


सरकारी निर्णयलाई बेवास्ता गर्दै निजी विद्यालयहरूले परीक्षा लिइरहेको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । माथिको आदेश बमोजिम कारबाही प्रक्रया अघि बढाउने उनको भनाइ छ । 

निजी विद्यालयहरूले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनानुसार स्वास्थ्‍य मापदण्ड पालना गर्दै पूर्व निर्धारित परीक्षा लिइरहेको बताएका छन् । सिद्धार्थ शिशु सदनका प्रमुख राजु यादवले वार्षिक परीक्षाको पूर्व निर्धारीत तालिकाअनुसार परीक्षा लिएको बताए ।  मेयर साहले हामीलाई दिएको निर्देशनअनुसार स्वास्‍थ्‍य मापदण्डको पालना गर्दै परीक्षा लिइरहेको दाबी गरे । 

यता जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले भने आफूले कसैलाई परीक्षा सञ्‍चालन गर्न निर्देशन नदिएको बताए । 'मैले कसैलाई परीक्षा लिन निर्देशन दिएको छैन,' उनले भने, 'निर्देशनमा परीक्षा सञ्‍चालन भइरहेको कसैले भन्‍छ भने त्यो गलत आरोप हो । नेपाल सरकार र जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णय पालना गराउन हामीले पनि वैशाख १० गतेभित्रै परीक्षा लिइ सक्नुपर्ने निर्देशन दिएका छौं ।'

उनले सरकारी निर्णय वेवास्‍था गर्ने जोकोहीलाई कानुनअनुसार कारबाही गरिने बताए । जनकपुरधाम क्षेत्रका करीब दुई दर्जन निजी विद्यालयहरूले वार्षिक शूल्क उठाउन सरकारी निर्णयको बेवास्ता गर्दै परीक्षा लिइरहेको अभिभावको गुनासो छ । निजी विद्यालयहरूले शूल्क बुझाएका विद्यार्थीलाई मात्र परीक्षामा सहभागी गराएको अभिभावकहरूको गुनासो छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x