Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

मधेश प्रदेश सभाको ९ सिटमा जनमत ३, कांग्रेस २ मा जित

इकागज |
मंसिर ७, २०७९ बुधबार १६:१९ बजे

जनकपुरधाम । सम्पन्न आम निर्वाचन २०७९ मा मधेश प्रदेश सभामा सबभन्दा बढी सिटमा जनमत पार्टीले जित पारेको छ । मधेश प्रदेश सभाको प्रत्यक्षतर्फ ६४ सिट मध्ये ९ वटाको सिटको परिणाम आइसकेको छ । जसमध्ये डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ३, कांग्रेस २, नेकपा एस, माओवादी केन्द्र, लोसपा र जसपाले १-१ सिट जितेका छन्।

सप्तरीको तीनवटा सिटमा आएको पछिल्लो परिणाम अनुुसार जनमत पार्टी नै जितेको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (१) मा जनमतका सतिश कुमार सिंह, सप्तरी २ (२) मा महेशलाल यादव र सप्तरी ३ (२) मा शम्भुकुमार साह निर्वाचित भएका हुन् । सिंहले १६ हजार ७३४ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी जसपाबाट प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह ८ हजार २९२ मत मात्र ल्याएका छन् ।


महेश १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उमेश कुमार यादव ७ हजार २३ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् । साहले १० हजार ८३२ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम् प्रतिद्वन्दी जसपाका विदेश्वरप्रसाद यादव (विक्की) ले १० हजार ८१४ मत ल्याई पराजित भएका छन् । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा (एस) की बेची लुंगेली १३ हजार ६७७ मत ल्याई विजयी भएकी छिन् भने उनका निकटतम् प्रतिद्वन्दी एमालेकी शान्तिकुमारी लामा ६ हजार ९७८ मत ल्याएकी छिन् ।

पर्साको ५ वटा सिटको आएको परिणाम मध्ये २ वटामा कांग्रेस र एउटा÷एउटामा जसपा, लोसपा, माओवादी केन्द्रले जीत हात पारेका छन् । पर्सा १ (१) मा माओवादी केन्द्रका रहबर अन्सारी ७ हजार ८१७ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका विचारीप्रसाद यादव ५ हजार ५१८ मत ल्याएका छन् । पर्सा १ (२) मा मुख्यमन्त्री समेत रहेका जसपाका लालबाबु राउत ७ हजार ५४५ मत ल्याई विजयी भएका छन भने उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका रामनारायण प्रसाद कुर्मी ६ हजार २१२ मत ल्याई पराजित भएका छन् ।

त्यस्तै पर्सा २ (१) मा कांग्रेसका श्यामप्रसाद पटेल १३ हजार ७८४ मतले विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी जसपाका रामनरेशप्रसाद यादव १२ हजार १२७ मत ल्याएका छन् । पर्सा २ (२) मा लोसपाका रमेशप्रसाद कुर्मी ९ हजार ४७१ मतले जित हात पारेका छन् भने उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह ६ हजार ८३४ मत ल्याएका छन् । पर्सा ४ (१) मा कांग्रेसका शंकरप्रसाद चौधरी १२ हजार १५४ मतले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका जयप्रकाश थारुले १० हजार ४३८ मत ल्याएका छन् ।


Author

थप समाचार
x