मधेश

मेयर-वडाध्यक्षको लफडाले नगरपालिका नै 'बन्धक'

भागबन्डाको विवादले धनुषाको कमला नगरपालिकामा पटक-पटक तालाबन्दी हुन्छ

सुभाष कर्ण |
बैशाख १२, २०७८ आइतबार ९:३० बजे

जनकपुरधाम : स्थानीयस्तरबाटै नागरिकको सेवा गर्न स्थानीय तह गठन गरिएको हो । तर, जनप्रतिनिधिहरू आ-आफ्नै भागबण्डा र विवादमा रुपलिएका कारण नागरिकको सेवामा होइन, सास्ती भोग्नु परिरहेको छ। यसको एउटा दृष्टान्त हो, धनुषा जिल्लाको कमला नगरपालिका । यहाँ मेयर र वडाध्यक्षको विवादले सबैजसो कार्यालयमा ताला लागेका छन् ।

मेयर र वडाध्यक्षको भागबण्डा विवादले सेवाग्राही मर्कामा परेको स्थानीय बताउँछन् । नगरपालिकामा कहिले हाकिमको आभाव त, कहिले मेयर र कहिले वडाध्यक्षको विवादले प्रत्येक वर्षका योजनाहरु अवरुद्ध हुने गरेका छन् । पछिल्लो पटक नगरपालिकाका विभिन्न वडाका चार जना वडाअध्यक्षले कार्यालयमा गरेको तालाबन्दीले एक सातादेखि  कार्यालय बन्द रहेको छ ।


तालाबन्दीले सेवाग्राही मर्कामा पर्नुका साथै नगरक्षेत्रभित्रकै सम्पूर्ण कामकाजसमेत ठप्प भएको छ । तालाबन्दीका कारण नगरपालिकाबाट सञ्चालित योजनाको काम प्रभावित हुनुका साथै काम सेवाग्राही रित्तै हात फर्किन बाध्य भएका छन् । नगरपालिकाका नगरप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालले वडाको योजना कटौती गरेको भन्दै वडा- १, २, ३ र ८ सहितका ४ जना तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित वडा अध्यक्षले नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता वितरण र विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन नगरेको र वडास्तरीय योजनाको बजेट कटौती गरेको भन्दै तालाबन्दी गरेका छन् । वडा-१ का अध्यक्ष राजकुमार यादव भन्छन्,'नगरसभाबाट पारित बजेट अनुसार वडामा योजना वितरण नगरी बजेट कटौती गरेको बारे आफूहरूले बुझाएको ज्ञापनपत्रको जवाफ नआएपछि तालाबन्दी गरेको हुँ ।'

वडाध्यक्षहरूबारे प्रतिक्रिया दिँदै मेयर रामउदगार गोईत भन्छन्,'वडाध्यक्षहरूले आफू अनुकूल नगरपालिकालाई चलाउन अनावश्यक बखेडा खडा गरी विवाद गर्दै तालाबन्दी गरेका छन्, जायज अधिकांश मांग पूरा भइसकेको छ र केही प्रक्रियामा रहेको छ, जहाँसम्म बजेट कटौतीको कुरा हो कोरोनाकालमा विभिन्न भैपरी आउने खर्चले गर्दा अनुमानीत बजेटमा तलमाथि हुन गएको हो ।'

यता प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले यो नगरको कार्यालयमा पटकपटक तालाबन्दी हुने गरेको बताउँछन् । 'सो नगरपालिकामा पटकपटक तालाबन्दी हुँदै आएको छ, पछिल्लो समय प्रहरी लगाएर ताला फुटाएर कार्यालय संचालनमा ल्याएका थियौँ, फेरि पुरानै विवादले तालाबन्दी गरिएको छु', उनी भन्छन्,'जनप्रतिनिधिहरूको आपसी किचिलोका कारण सर्वसाधारण जनतालाई दु:ख दिनु दुखद कुरा हो । समस्या समाधान गर्न सहमतिको बाटोमा जानुस् भनेरे भनिसकेका छौँ ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x