मधेश

मोटरसाइकल ठोक्किँदा एकै गाउँका दुई युवाको मृत्यु

इकागज |
बैशाख १२, २०७८ आइतबार १९:१० बजे

जनकपुरधाम : धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका-८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा कुसुम विसौनाका स्थानीयवासी २० वर्षीय भोला महतो र स्थानीयवासी २६ वर्षीय सुनिल शर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल आइतबार दिउँसो एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 


दुर्घटनामा मृत्यु हुने दुवै मोटरसाइकल चालक हुन् । दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई उपचारका लागि जनकपुर लग्ने क्रममा एक जनाको बाटोमै र अर्का युवकको जानकी हेल्थ केयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नंको मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष महतोसमेत गम्भीर घाइते भएको इप्रका ढल्केवरका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । उनको उपचार लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ । दुवैको शवपरीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । रासस
 


Author

थप समाचार
x