मधेश

उपभोक्ता समितिले घेरे अर्थ मन्त्रालय

सुभाष कर्ण |
मंसिर २५, २०७९ आइतबार २०:५१ बजे

जनकपुरधाम- बक्यौता भुक्तानीको माग गर्दै उपभोक्ता समितिले मधेस प्रदेशको अर्थ मन्त्रालय घेराउ गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मै सम्पन्न भएका प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत अन्य मन्त्रालयका विभिन्न योजनाहरूको विकास निर्माणको रकम भुक्तानीको माग गर्दै आइतबार सम्बन्धित उपभोक्ता समितिका पदाधिकारीहरूले विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् ।


काम गरेको महिनौँ बितिसक्दा समेत भुक्तानी नपाएकाले यथाशिघ्र आफूहरूको भुक्तानी हुनुपर्ने माग गर्दै समितिका पदाधिकारीहरूले नारा जुलुससहित प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् ।

एक उपभोक्ता समितिका सोनु निधिले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न मन्त्रालय अन्तर्गतका चार दर्जन विकास निर्माणको काम गरेकाे उपभोक्ता समितिले काम सम्पन्न गरेको महिनौँ बितिसक्दा पनि भुक्तानी नपाएकाले बाध्य भएर मन्त्रालय घेराउ गर्नु परेको बताए ।

उनले आफूहरूले काम सम्पन्न गरेको महिनौँ बितिसकेको अवस्थामा अब बैंकको ब्याज तिर्न समेत समस्या भइरहेपनि भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो गरे । बैंकको ब्याज महिनाको ८० हजार तिर्नु परेको उनले बताए । प्रदर्शनकारीहरूले मुख्यमन्त्री कार्यालयमा प्रदर्शन गर्न खोज्दा प्रहरीले भित्र छिर्न दिएकाे थिएन ।

यता, चुनावका कारणले केही महिना अगाडिदेखि नै आचारसंहिता लागिसकेको अवस्थामा उपभोक्ता समितिको भुक्तानी गर्न नसकेको सम्बन्धित मन्त्रालयहरूको भनाइ छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको मात्रै ३२ वटा योजनाको करोडौं रकम भुक्तानी गर्न बाँकी रहेको छ भने अन्य मन्त्रालयसहित उपभोक्ता समितिहरूको करिब १ अर्ब जति रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

यसअघि, आर्थिक वर्ष २०७५/०७६ मा पनि प्रदेश सरकारको योजनाको भुक्तानी बक्यौता रहन गएको थियो । उपभोक्ता समितिहरूले मुख्यमन्त्रीको पुतलामा जुत्ता हान्नेदेखि मन्त्रालय घेराउसम्मको महिनौँ आन्दोलन गर्दा दुई वर्षपछि कानुन संशोधन गरी भुक्तानी गरिएको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x