मधेशमा डमी उम्मेदवार बढी, ५४ काे शून्य मत
जनकपुरधाम । मंसिर ४ गते सम्पन्न निर्वाचनमा मधेश प्रदेशमा प्रतिनिधि सभा सदस्यतर्फ २ सयभन्दा बढी डमी उम्मेदवार रहेको देखिएको छ ।
मधेश प्रदेशका ८ वटै जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ५ सय ९१ जनाले उम्मेदवारी दिएकोमा डमी उम्मेदवारको संख्या २ सय २४ रहेको तथ्यांकमा देखिएको छ । ५० भन्दा कम मत ल्याउने उम्मेदवारलाई डमी उम्मेदवारको सूचीमा राखिएको छ । डमी उम्मेदवारहरु मध्येका यस्ता पनि छन् जसले आफ्नो मत आफै पनि हालेका छैनन् ।
मतगणना परिणाम अनुसार सप्तरीमा १९, सिरहामा ३०, धनुषामा ६६, महोत्तरीमा १७, सर्लाहीमा २३, रौतहटमा २५, बारामा २६ र पर्सामा १८ जना स्वतन्त्रसहित दलका उम्मेदवार जसले ५० वटा पनि मत ल्याउन सकेका छैनन् ।
एक मत पनि ल्याउन नसकेका उम्मेदवारको संख्यामा मधेश प्रदेशमा ५४ जना उम्मेदवार रहेका छन । यसमा स्वतन्त्र बाहेक आधा दर्जनभन्दा दलका उम्मेदवारहरु पनि रहेको छ । शून्य मत ल्याउने सबभन्दा बढी धनुषाको क्षेत्र नम्बर १ मा रहेका छन, यहाँ १५ जना यस्ता उम्मेदवार छन् जसले शून्य मत ल्याएका छन् ।
सर्लाहीको क्षेत्र नम्बर १ मा ८ जना, २ मा ६ जना, रौतहटको १ मा ८ जना, बाराको १ मा ५ जना, २ मा १ जना र ४ मा ११ जना उम्मेदवारले शून्य मत ल्याएका छन । समानुपातिक भोट प्राप्त गर्न अरु दलका उम्मेदवारलाई समर्थन गर्ने उद्देश्यले ती दलहरुले डमी उम्मेदवार खडा गरेका थिए । जसका उम्मेदवार आफ्नो मत आफैलाई पनि दिएका छैनन् ।
शून्य मत ल्याउने दलहरुमा सर्लाहीको १ मा नेमकिपाको रामाकान्त कापर, रौतहटको १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मिस्टर सूर्यदेवप्रसाद कोइराला, बाराको १ मा नेपाल लोकतान्त्रिक पार्टीका मोजहर हुसैन मन्सुर, २ मा नेपालका लागि नेपाली पार्टीका शेखअली आलम, ४ मा जनता प्रगतिशील पार्टीका श्रीनिवास महतो, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोहन कुमारसहितका दलका उम्मेदवारहरुले आफ्नो मत पनि आफूलाई नहाली शून्य मत ल्याएका छन् ।
एकसय मत पनि कटाउन सकेनन्
सम्पन्न निर्वाचनमा चुनावी मैदानमा उत्रेकाहरु मध्ये धेरै यस्ता उम्मेदवारहरु पनि छन जसले एक सय मत पनि कटाउन सकेका छैनन् ।
मतगणना परिणाम अनुसार सप्तरीमा २६, सिरहामा ३३, धनुषामा ७३, महोत्तरीमा २९, सर्लाहीमा २७, रौतहटमा ३८, बारामा २८ र पर्सामा २६ जना स्वतन्त्र सहित दलका उम्मेदवारहरुले एक मत कटाउन सकेका छैनन् ।
आयोगको तथ्यांक अनुसार सप्तरीको क्षेत्रमा १ मा ९, २ मा ७, ३ मा ७ र ४ मा ३ जनाले उम्मेदवार एकसय पनि मत ल्याउन सकेका छैनन । सिरहाको १ मा १२, २ मा १३, ३ मा १० र ४ मा ३, धनुषाको १ मा २०, २ मा ८, ३ मा २५, ४ मा २० जनाले सय मत कटाउन सकेका छैनन् ।
त्यस्तै महोत्तरीको १ मा ५, २ मा ५, ३ मा १०, ४ मा ९, सर्लाहीको १ र २ मा ८÷८ जना, ३ मा ३, ४ मा ८ जना, रौतहटको १ मा १२, २ मा ८, ३ मा ११, ४ मा ७, बाराको १ मा ९, २ मा ६, ३ मा २, ४ मा ११ र पर्साको १ मा १३, २ मा ४, ३ मा ५, ४ मा ४ जनाले एकसय मत पनि ल्याउन सकेका छैनन् ।
यसमा स्वतन्त्र उम्मेदवार बाहेक नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, मंगोल नेशनल अर्गनाइजेशन पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपालका लागि नेपाली पार्टी, जनता प्रगतिशील पार्टी र बहुजन एकता पार्टीसहित एक दर्जनभन्दा बढी पार्टी रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया