मधेश

गुठी कर्मचारीमाथि एमाले नेता भण्डारीले गरे हातपात

सुभाष कर्ण |
मंसिर २९, २०७९ बिहीबार १४:३२ बजे

जनकपुरधाम । गुठी संस्थान जनकपुरधाम शाखाका एक कर्मचारीमाथि एमाले नेता सुरेन्द्र भण्डारीले हातपात गरेका छन् । गुठीकाे जग्गा लिजमा लगाउने टेण्डर सम्बन्धी विवादमा जनकपुरधाम उपमहानगरपालिका नगर अध्यक्ष भण्डारीले गुठी संस्थानका कर्मचारी अमिन प्रभात चन्द्र पोखरेललाई कार्यकक्षमै हातपात गरेकाे आराेप लगाइएकाे छ ।

टेण्डर दर्ता गर्ने समय आज दिउँसो करिब साढे १२ बजेको समय रहेकाेमा समय नाघेपछि पनि टेण्डर दर्ता गरिरहेकाे भन्दै आफूमाथि एमालेका नगर अध्यक्ष भण्डारीले हातपात गरेकाे उनले बताए । ताेकिएकाे समयभित्र कार्यालयमा छिरिसकेका व्यक्तिकाे दर्ता गरिरहेकाे क्रममा भण्डारीले टेण्डर दर्ता नगर्न दबाव दिँदै भण्डारीले आफूमाथि कुटपिट गरेको अमिन पोखरेलले बताए ।


धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने संजय कुमार मण्डलले टेण्डरका लागि बिहीबार दिउँसो १२ बजेभित्रै आफ्नो टेबलमा फाइल राखेकाले आफूले त्यसलाई दर्ता गर्न लाग्दा एक्कासी आएर भण्डारीले कार्यकक्षबाट घिसारेर परिसरमा लगी आफूमाथि हातपात गरेको उनकाे भनाइ छ । प्रत्यक्षदर्शी एवं टेण्डर दर्ता गर्न आएका संजय मण्डलले आफू समयमै गुठी संस्थानमा आएर फाइल दर्ता गरिरहेकै बेलामा भण्डारी आएर बखेडा निकाल्दै दादागिरी देखाउँदै उनीमाथि हातपात गरेको बताए ।

यता, नेता भण्डारीले आफूले कुनै कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन् । अमिन भण्डारीले दिउँसो १२ बजे पश्चात् पनि टेण्डर दर्ता गरिरहेकाे कारण राेक्न लाग्दा सामान्य विवाद भएकाे उनले बताए । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कठ्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले कात्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरको गुठी तैनाथी जग्गा लिजमा दिने सम्बन्धी सूचना प्रकाशित भएको ३१ दिन भित्र दिउँसो १२ बजे भित्र वार्षिक भाडादर उल्लेख गरी सूचना प्रकाशनका गरेकाे थियाे । साेही बाेलपत्रकाे टेण्डर दर्तामा विवाद भएकाे हाे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x