मधेश

मधेश प्रदेश सभामा ७ सय ८९ उम्मेदवारको जमानत जफत

इकागज |
पुस २, २०७९ शनिबार १८:४७ बजे

जनकपुरधाम। मधेस प्रदेशमा २६ राजनीतिक दलका ७ सय ८९ जना उम्मेदवारको जमानत जफत भएको छ । शनिबार निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष पेश गरेपश्चात् आयोजना गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको जमानत जफत निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले बताए । उनले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको जमानत जफत हुने व्यवस्था बमोजिम प्रदेश सभातर्फ बन्दसूची पेश गर्ने दलमध्ये मधेस प्रदेशमा २६ वटा राजनीतिक दलको धरौटी जफत भएको जानकारी दिए ।


प्रदेशमा प्रत्यक्षतर्फ १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ७ सय २४, महिला उम्मेदवार ६४ र अन्य उम्मेदवार १ गरी कूल ७ सय ८९ जना रहेको छ । प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्नेतर्फ १० दल रहेका छन । यस बाहेक २६ दलको धरौटी जफत भएको छ । आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार मधेस प्रदेशको प्रदेश सभातर्फ १ सय ७ जना निर्वाचित भएका छन् । जसमा पुरुष ६७ जना (६२ दशमलव ६१ प्रतिशत) र महिला ४० जना (३७ दशमलव ३९ प्रतिशत) निर्वाचित भएका छन ।

मधेस प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ३७ र समानुपातिकतर्फ ३६ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । प्रदेशसभाको प्रत्यक्षतर्फ पुरुष ९ सय ३२, महिला ७४ र अन्य १ गरी कूल १ हजार ७ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो भने समानुपातिक निर्वाचन प्रणालीमा कूल ८ सय ६३ जना उम्मेदवारको अन्तिम बन्द सूचीमा राखिएको थियो । प्रदेशमा महिला १५ लाख ५८ हजार ७०४, पुरुष १८ लाख २७ हजार ८५४ र अन्य ७० गरी कूल ३३ लाख ८६ हजार ६२८ मतदाता रहेको छ भने २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र कायम गरिएको थियो ।


Author

थप समाचार
x