मधेश

निर्वाचन आयोगको पत्रकार सम्मेलन बहिष्कार

सुभाष कर्ण |
पुस २, २०७९ शनिबार १९:१९ बजे

जनकपुरधाम- जनकपुरधामस्थित निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरूले निर्वाचन आयोगको पत्रकार सम्मेलन बहिष्कार गरेका छन् । 

निर्वाचन सम्बन्धी प्रतिवेदन आयोगले मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाउने कार्यक्रम रहेकोमा सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश दिएपछि निजी सञ्चार माध्यमका सञ्चारकर्मीहरूले पत्रकार सम्मेलन बहिष्कार गरेका हुन् ।


शनिबार आयोग र प्रदेश प्रमुख कार्यालयबाट दिउँसो १ बजे निर्वाचनको प्रतिवेदन बुझाउने कार्यक्रम रहेको भन्ने निजी तथा सरकारी सबै सञ्चार माध्यमलाई फोन गरी जानकारी गराइएको थियो । सो कार्यक्रममा सहभागी हुन पत्रकार प्रदेश प्रमुख मिश्रको कार्यालय पुग्दा सुरक्षामा खटिएका सेनाले सरकारी सञ्चार माध्यमलाई मात्रै प्रवेशको इजाजत छ भनी रोकेका थिए ।

पत्रकारहरूले आफूहरूलाई आयोग र प्रदेश प्रमुख कार्यालयबाटै आमन्त्रण गरिएको हो भन्ने जानकारी गराए पनि प्रवेश गर्न दिइएन । अन्त्यमा आयोगका आयुक्त सगुन शमशेर जबराले बाहिर आएर आफूहरूलाई सरकारी सञ्चार माध्यमलाई मात्र प्रवेश गर्न निर्देशन रहेको बताए ।

प्रतिवेदन बुझाए पश्चात आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारहरूले बहिष्कार गरी बाहिर निस्किए । सरकारी सञ्चार माध्यमका पत्रकार बाहेक निजीका केही पत्रकार मात्र सो पत्रकार सम्मेलनमा सहभागी भए ।

यसअघि निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष बुझाएकाे थियाे । 

मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष बुझाए ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको तर्फबाट निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले प्रदेश प्रमुख मिश्रलाई बुझाएका थिए । सो प्रतिवेदन अनुसार मधेस प्रदेशसभातर्फ प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी १ सय ७ जना निर्वाचित भएका छन् ।

आयोगले प्रतिवेदन बुझाएपछि यस प्रदेशमा पनि नयाँ सरकार गठनको बाटो खुलेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x