मधेश

विदेशबाट फर्किएका युवा देशमा रोजगार खोज्दै

माधुरी महतो |
कात्तिक २८, २०७७ शुक्रबार १५:५७ बजे

वीरगञ्ज : प्रदेश–२ का पर्सा, बारालगायत जिल्लाबाट रोजगारीको सिलसिलामा विदेश गएका तर कोभिड–१९ भाइरसको माहामारीका कारण घर फर्केकाहरूले दुःख झेलिरहेका छन् । विदेश जादा लागेको ऋण तिर्नु त परैको कुरा भयो, फर्कदासमेत आफ्नै पैसा खर्च गर्नुपर्दा ऋणमाथि ऋण थपिएको छ । कसैले बिदामा घर फर्केपनि फेरि जान नसकेको बताउँछन् । कोभिड-१९ विश्वभरी फैलिएको बेला भएको लामो समयको लकडाउनको बेला दुःख पाएर घर फर्केको ५ महिना वितिसक्यो । नेपाल मै बस्ने सोच बनाएर खोज्दा कामसमेत नपाएको उनीहरू बताउँछन् । काम नभएपछि बालबालिकालाई पढाउन, लेखाउन, पेट पाल्नका लागि फेरि विदेश नै फर्कन चाहेको उनीहरूको दुखेसो छ । 

प्रतिवर्ष नेपालमा प्रदेश-२ बाट रोजगारीका लागि सबै भन्दा विदेशमा जान्छन् । विशेष गरेर ग्रामीण भेगका विपन्न वर्गका युवाहरू वैदेशिक रोजगारीका लागि कतार, मलेसीया, साउदी अरब संयुक्त इमिरेट्स, कुवेत, बहराइन, ओमानलगायत देश जाने गर्छन । अहिले कोभिडको माहामारीले वैदेशिक रोजगारी गुमेपछि विदेसिएका अधिकांस नेपाल फर्किएका छन् । 


विदेशमा रोजगारविहिन भएपछि आफ्नै खर्चमा लकडाउनको बेलामा स्वदेश फर्केका वीरगंज महानगरपालिका वडा नम्बर ३ का मोजमिल मियाँले आफनो दुःख सुनाउँदै भन्छन्,- ‘साउदी अरेवियाको मदिना मनोहरा भन्ने ठाउँमा इन्स्योरेन्स कम्पनीमा टी ब्वायको रूपमा चार वर्षदेखी काम गर्दै आएको थिए । कम्पनीले लकडाउनका कारण काम नभएकोले घर फर्कन भन्दै तीन महिनाको तलबसमेत रोक्यो । काम नभएपछि खान बस्न समस्या पर्‍यो । कम्पनीले कुनै व्यवस्था गरेको थिएन ।’

आफू बसेको कोठा आसपासका मानिसहरुले खाना सहयोग गरेर बारम्बार प्रयास गरेपछि टिकट बनेर आफू घर फर्किएको उनले बताए । ‘कम्पनीले त बेवारिसे अवस्थामा छोडेकाले आफ्नो ८५ हजार रुपैँया खोजेर आफै पीसीआर गरेर नेपाल फर्के,’ उनले भने, ‘अनलाइनमार्फत कम्पनीले तीन महिनाको पैसाबाट पनि केही रकम पठायो, केही अझै बाँकी छ ।’ घरमा श्रीमती, २ छोरा रहेको एउटै कोठामा खाने, बस्ने, सुत्ने सबै गर्नुपर्ने अवस्था रहेकाले काम खोजिरहेको तर पैसा नपाएको उनले बताए ।
 
नेपालमा काम नपाएपछि आर्थिक अवस्था कमजोर भएका मानिसहरू विदेसमा रोजगारीका लागि जाने गरेका थिए । कोभिडका कारण फर्किएकाहरूले महिनौसम्म जागिर नपाउँदा घर व्यवहार चलाउनसमेत अप्ठ्यारो परिरहेको पर्सामा विश्रामपुरका साविर मियाँ धोवीले बताए । सर्लाहीका अस्गर अलि आलमले काम खोज्दा राम्रो अवस्थामा त नपाउने ठाँउमा अहिले कसरी पाउने भन्दै आफ्नो दुखेसो सुनाए । विदेशबाट फर्किएका उनले विदेशबाट ल्याएको बचेको पैसाले काम चलिरहेको र त्यो पैसा सकिदा वित्तिकै जानु पर्ने बाध्यता रहेको बताए । 

६५ वर्षीय किशोरी राउत कुर्मीका साउदी अरेवियामा विगत चार वर्षदेखी काम गर्दै आएका ३९ वर्षीय छोरा मुकेश राउत कुर्मीको मृत्यु भएको खबर आयो । खातामा पैसा हाल्न जाने बेलामा सडक दुर्घटनामा परेर ज्यान गएका मुकेशको केही दिनमै गाउँमा बाकसमा शव आइपुग्यो । 

उनी भन्छन्, ‘छोरालाई विदेश पठाउन साहु महाजनबाट डेढ लाख ऋण लिएको थिए । चार वर्ष काम गर्दा अरु कर्जा चुकाउँदै थियौँ अनि लिएको यो कर्जा यसवर्ष फिर्ता गर्छौँ भन्ने थियो तर छोरा नै रहेन, अरु कुरा त अधुरै रहनै नै भयो ।’

प्रदेश सरकारको के छ तयारी
विदेशमा रोजगारी गुमाएर प्रदेश-२ मा मात्रै लाखौंको संख्यामा घर फर्र्किएका छन्  । लकडाउनमा घर फर्किएका र अहिले पुनः विदेश फर्कन लागेकाहरूका लागि कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रदेश सरकारले विभिन्न नीति लिएको बताएको छ ।

वैदेशिक रोजगारी गुमाएर प्रदेशमा फर्किएका युवाका लागि ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत व्यवस्थापन गर्ने योजना बनाएको मुख्यमन्त्री लालबाबु राउतले बताए । उनले रोजगारी गुमाएर स्वदेश फर्केका तथा विभिन्न रोजगारीको सिलसिलामा विदेश जान खोज्नेहरुका लागि विभिन्न सीपमुलक तालिम, स्वरोजगार सम्बन्धी आर्थिक व्यवस्थापनलगायतका कार्य अगाडी बढाएको बताए । 


Author

थप समाचार
x