मधेश

पाँच वर्षे कार्यकाल सफल रहेको मुख्यमन्त्री राउतको दाबी

सुभाष कर्ण |
पुस ६, २०७९ बुधबार १३:४६ बजे

जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँच वर्षे कार्यकाल सफल रहेको दाबी गरेका छन् । बुधबार आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा आफूले शून्यबाट सरकार सन्चालन गरेकोमा अहिले सुविधा सम्पन्न भइसकेको बताए । 
अब आउने नयाँ सरकारका लागि त्यो समस्या नहुने उनको भनाइ छ । 

मुख्यमन्त्री राउतले कर्मचारी, गाडी र भौतिक संरचना अभाव रहेको आफूले सरकार संचालन गरेको थियो । तर अहिले ती सबै सुविधा पुरा भइसकेकोमा नयाँ बन्ने सरकारलाई शून्यबाट सुरु गर्नु नपर्ने बताए । 


उनले आफ्नो कार्यकालको उपलब्धीहरू सुनाउँदै, 'संघीय सरकारको असहयोगका बावजूद राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै काम गरेको छु । एक सहिद परिवार एक रोजगारी, दर्जनौँ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि तथा मधेश विश्वविद्यालय, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रदेशको नामाकरण तथा राजधानी तोक्ने, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतका उपलब्धी हो ।'
 
संघीय सरकारको असहयोगका कारण नीति र कर्मचारी अभावको समस्या प्रदेश सरकार अहिलेसम्म भोग्दै आएको भन्दै उनले बताए । संघ सरकारकै कारण प्रदेश प्रहरी ऐनलगायतका कयौं ऐन कार्यान्वयनमा आउन नसकेको विभिन्न चुनौतीका बावजुद प्रदेश र संघीयतालाई सुदृढीकरण गर्नका काम गरेको दाबी गरे । मुख्यमन्त्री राउतले अगाडि भने, 'मधेश सरकार गठन हुँदा हामीसँग श्रोत साधनको अभाव थियो, कार्यालयहरू थिएनन् । तर हामीले काम गरेर देखायौँ । हामीहरूले दर्जनौँ ऐनहरू बनायौँ, संविधान कार्यान्वयनका लागि संविधानको अनुसुचिमा रहेका प्रदेशलाई दिइनु पर्ने अधिकारका लागि लड्यौँ ।’

प्रदेश प्रहरी ऐन, प्रदेश निजामति सेवा ऐनलगायतका लागि अन्य प्रदेशहरूभन्दा एक स्टेपभन्दा अगाडि बढेर काम गरेको उनको दाबी थियो । उनले प्रदेश सरकारको अधिकारका लागि हामीले संघ सरकारविरुद्ध सर्वोच्च अदालतमा ६/६ वटा रिट समेत दायर गरेको स्मरण गराए । 

'महिला, दलित तथा उत्पिडित समुदायको अधिकारका लागि दर्जनौँ ऐनहरू बनायौँ,' मुख्यमन्त्री राउतले भने ‘छोरी बिमा कार्यक्रम जारी नै रहेको, दलितहरूको विकासका लागि दलित विकास समिति गठन र दलित सशक्तिकरण ऐन ल्यायौं, यो पहिलो प्रदेश हो जहाँ महिलाहरूलाई ५० प्रतिशत आरक्षण दिएको छ।'
 
मुख्यमन्त्री राउतले प्रदेश सरकार चलाउनमा सत्ता पक्षमा आवद्ध तात्कालीन राजपा मात्र नभई प्रतिपक्षी दलहरूको समेत सहयोग गरेको र राजपापछि सरकारमा आबद्ध भएका दलहरूको सहयोग जारी रहेकाले मधेश प्रदेश सरकार सफल भएको बताए । पत्रकार सम्मेलनमा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुध्न महतो र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवको समेत उपस्थिति थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x