मधेश

मधेश प्रदेशमा ३८ सांसदले मातृभाषामा शपथ लिँदै

सुभाष कर्ण |
पुस १४, २०७९ बिहीबार १४:२१ बजे

जनकपुरधाम- मधेस प्रदेश सभाका ज्येष्ठ सांसद गोविन्दबहादुर न्यौपाने आज शपथ ग्रहण गर्दै छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई ज्येष्ठ सांसदका रूपमा आज शपथ ग्रहण गराउनेछ । ज्येष्ठ सांसद न्यौपानेले शपथ ग्रहण गरेपछि अन्य १०६ सांसदले शुक्रबार दिउँसो २ बजे शपथ लिने छन् ।


प्रदेश संसद् सचिवालयका सचिव रञ्जित यादवका अनुसार सांसदहरूले नेपाली भाषा बाहेक अन्य मातृभाषामा ३८ जना सांसदले शपथ ग्रहण गर्नेछन् । नेपाली भाषा बाहेक अन्य मातृभाषामा शपथ लिन चाहने प्रदेशसभा सदस्यहरूका लागि बुधबार साँझ ५ बजेसम्म निवेदन दिन सूचना जारी गरिएको थियो । 

बुधबार बेलुकीसम्म जनमत पार्टीबाट प्रत्यक्ष निर्वाचित ६ र समानुपातिक ७ गरी १३ जना प्रदेशसभा सदस्यहरू बाहेक अन्यले मैथिलीसहित ८ भाषामा शपथ लिन चाहेको निवेदन दिएका थिए । नेपालपछि सबैभन्दा बढी बज्जिका भाषामा शपथ लिन लागिएकाे सचिवालयले जानकारी गराएको छ ।

सचिवालयले दिएको जानकारी अनुसार मैथिली भाषामा भने धनुषा–२ (ख) बाट निर्वाचित जसपाका रामअशिष यादव र सिरहा–१ (ख) बाट निर्वाचित राजकुमार गुप्ता तथा धनुषा–१ (ख) बाट निर्वाचित नेकपा एमालेका रामचन्द्र मण्डल, धनुषा–३ (क) बाट निर्वाचित कांग्रेसका रामसरोज यादव, धनुषा–४ (क) बाट निर्वाचित कांग्रेसका शेषनारायण यादव, जसपाका समानुपातिक सांसदहरू मनिषकुमार सुमन, किरणकुमारी साह र ममता देवी मण्डल, कांग्रेसका समानुपातिक सांसद कुमार कान्त झा र जीवछीकुमारी यादवसहित १० जनाले शपथ लिने छन् ।

त्यस्तै, महोत्तरी ३ (क) बाट प्रत्यक्ष निर्वाचित लोसपाका अभिराम शर्मा, सर्लाही–१ बाट निर्वाचित लोसपाका उपेन्द्र महतो, रौतहट–१ (ख) बाट निर्वाचित कांग्रेसका कृष्णकुमार यादव, सर्लाही–२ (ख) बाट निर्वाचित कांग्रेसका कौशल किशोर राय, सर्लाही–२ (क) बाट निर्वाचित कांग्रेसका जंगीलाल राय, रौतहट–१ (क) बाट निर्वाचित कांग्रेसका नागेन्द्र साह, लोसपाका समानुपातिक सांसद रमिता प्रधान र रूपाकुमारी यादव, महोत्तरी–३ (ख) बाट प्रत्यक्ष निर्वाचित लोसपाका रानीकुमारी तिवारी, सर्लाही–४ (क) बाट निर्वाचित कांग्रेसका बीरेन्द्रकुमार सिंह, नेपाली कांग्रेसका समानुपातिक सांसद सकुन्ती देवी महरा, जसपाका समानुपातिक सांसद शोभा देवी र सर्लाही–३ (ख) बाट प्रत्यक्ष निर्वाचित जसपाका संजयकुमार यादवसहित १३ जनाले बज्जिका भाषामा शपथ लिने भएका छन् ।

भोजपुरी भाषामा भने जसपाका समानुपातिक सांसद शाहिदा खातुन, बारा–२ (ख) बाट निर्वाचित जसपाका बच्चा राउत अहिर, पर्सा–२ (ख) बाट निर्वाचित लोसपाका रमेशप्रसाद कुर्मी, नेकपा माओवादी केन्द्रका समानुपातिका सांसद शारदा पहाडी, रौतहट–४ (ख) बाट निर्वाचित जसपाका शेख अबुकलाम अजाद, बारा–१ (ख) बाट निर्वाचित जसपाका सरोजकुमार यादव र पर्सा–४ (ख) बाट निर्वाचित जसपाका सिंगासन सा कलवारसहित ७ जनाले शपथ लिने संसद् सचिवालयले जनाएको छ ।

सप्तरी–१ (क) बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका राजकुमार लेखी, सिरहा–१ (क) बाट निर्वाचित राजेन्द्रप्रसाद चौधरी र बारा–४ (क) बाट निर्वाचित देवनारायण थारूसहित ३ जनाले थारू भाषामा शपथ लिने भनी निवेदन दर्ता गराएका छन् ।

त्यस्तै, महोत्तरी–१ (ख) बाट निर्वाचित माओवादी केन्द्रका भरतप्रसाद साह र महोत्तरी–४ (ख) बाट निर्वाचित जसपाका सरोजकुमार सिंहसहित दुईजनाले मगहि भाषामा शपथ लिने छन् भने बारा–४ (ख) बाट निर्वाचित लोसपाका जितेन्द्र सोनल र महोत्तरी–२ (ख) बाट स्वतन्त्र निर्वाचित सुरिताकुमारी साहले हिन्दी भाषामा शपथ लिने सचिव यादवले जानकारी दिएका छन् ।

नेपाल संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेकी विमला अन्सारी तरुन्नुमले भने उर्दु भाषामा शपथ लिने सचिव यादवले जानकारी दिएका छन् ।

उता, जनमत पार्टीका प्रत्यक्ष निर्वाचित सकिय मियाँ, सतिशकुमार सिंह, महेशप्रसाद यादव, शम्भुकुमार साह, सञ्जयकुमार यादव र त्रिभुवन साहसहित समानुपातिक सांसदहरू बबिताकुमारी राउत इसर, अनिताकुमारी साह, चन्दनकुमार सिंह, बसन्तकुमार कुशवाहा, रञ्जुकुमारी मण्डल खंग, हसिना खातुन र भाग्यश्रीकुमारी चौधरीले संसद् सचिवालयमा आ–आफ्नो मातृभाषा सम्बन्धमा निवेदन नै दिएका छैनन् ।

प्रदेशसभाका सदस्यहरूलाई आ–आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम ३ दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन भनी सूचना जारी गरेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x