मधेश

जाडो छल्न चोक-चोकमा अगेना

सुभाष कर्ण |
पुस १४, २०७९ बिहीबार २१:१४ बजे

जनकपुरधाम- अत्यधिक बढेको जाडोको दृष्टिगत गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा जनकपुरधामको विभिन्न चोकहरूमा अगेनाका लागि दाउरा बाल्न सुरु गरिएको छ । 

अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएसँगै जनकपुरधाम उद्योग वाणिज्य संघले विपत व्यवस्थापन, जनकपुरधाम उपमहानगरपालिकासहित विभिन्न निकायहरूको समन्वयमा बिहीबारदेखि नगरका चोकहरूमा दाउरा बाल्न सुरु गरेको हो ।


बजारमा किनमेलका लागि निस्कने मानिसलाई जाडोले मुस्किल परेको र बाहिरबाट आउने पर्यटकहरू पनि प्रभावित भइरहेका कारण नगरका चोक-चोकमा दाउरा बाल्न थालिएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । 

उनका अनुसार जनकपुरधामको भानु चोक, रेल्वे स्टेसन, जनक चोक, प्रादेशिक अस्पताल प्रांगण, रामानन्द चोक र बस स्टैण्डसहित ६ स्थानमा दाउरा बालेर अगेनाको व्यवस्था गरिएको छ । दुई/चार दिनपछि नगरको १६ ठाउँमा अगेनाको व्यवस्था गरिने उनले जानकारी दिए । अगेनाका लागि वन कार्यालयबाट दाउरा व्यवस्थापन गरेको छ । 

अत्यधिक चिसो र शीतलहर भएपछि नगरवासीलाई राहत पुगोस् भन्ने उद्देश्यले मुख्य चोकहरूमा दाउरा वितरणसहित आगो ताप्ने व्यवस्था गरिएको र यो निरन्तर जारी रहने उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x