मधेश

मधेस प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

सुभाष कर्ण |
पुस १४, २०७९ बिहीबार २१:२१ बजे

जनकपुरधाम- मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका न्यौपानेले शुक्रबार प्रदेश सभाका बाँकी १ सय ६ जना सदस्यलाई शपथ ग्रहण गराउने जनाइएको छ । 


नेकपा एकीकृत समाजवादीका नेता न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य न्यौपानेले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिएका छन् । 

अब सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेश सभाको अध्यक्षता गर्नेछन् । नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि प्रदेश कानुन बमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ ।

यसपटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व रहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x