मधेश

मधेस प्रदेश सभा सदस्यले लिए शपथ, दुई जनाकाे राेकियाे

सुभाष कर्ण |
पुस १५, २०७९ शुक्रबार १५:२३ बजे

जनकपुरधाम- मधेस प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले १०४ नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

यस्तै १ सय ७ प्रदेशसभा सदस्यहरूमध्ये २ जनाको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेशका कारण मधेस प्रदेशका २ जना प्रदेशसभा सदस्यको शपथ ग्रहण रोकिएको हाे । नवनिर्वाचित प्रदेशसभा सदस्यहरू माला कर्ण र मोहम्मद रजी हैदरको हकमा सर्वोच्च अदालतले निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएकाले शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सर्वोच्चले गत मंसिर २९ गते यी दुवैको हकमा फैसला सुनाएको थियो ।


मधेस प्रदेशसभाको प्रदेशसभा सचिवालयका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ५३ जना सदस्यहरूले नेपाली भाषामा र ४९ प्रदेशसभा सदस्यहरूले मातृभाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरूले शपथ लिएका छन् । बज्जिका भाषामा  अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपाकुमारी यादव, बीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन् ।

मैथिली भाषामा ११ जना प्रदेशसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन् । किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजयकुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

७ जना प्रदेशसभा सदस्यहरूले भोजपुरी भाषामा शपथ लिएका छन् । जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोजकुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिएका हुन् । थारू भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका छन् ।

मगही र हिन्दी भाषामा २/२ जना प्रदेशसभा सदस्यहरूले शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ । भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन ।

उर्दु भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिएकी छिन् ।

जनमत पार्टीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले विवादबीच मधेसी भाषामा शपथ लिएका छन् । जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्यहरूमध्ये १२ जना प्रदेशसभा सदस्यहरूले मधेसी भाषामा शपथ लिएका हुन् । जनमत पार्टीका सतिश सिंहले भने मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x