मधेश

जनमत पार्टीकाे मधेश प्रदेश संसदीय दलको नेतामा यादव चयन

सुभाष कर्ण |
पुस १६, २०७९ शनिबार १८:२४ बजे

जनकपुरधाम- जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् ।

दलका नेता चयन गर्न जनकपुरमा पुस ५ गते बसेको बैठकमा सहमति नजुटेपछि पार्टी अध्यक्ष डा. सीके राउतलाई नै चयन गर्ने जिम्मेवारी दिइएको थियो । सोही बमोजिम अध्यक्ष राउतले दलका नेतामा यादवलाई चयन गरेका हुन् ।


यादव सप्तरी क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्र परित्याग गरी जनमत पार्टीबाट लडेका उनी माओवादीकै नेता तथा पूर्वमन्त्री उमेश यादवलाई पराजित गरेका थिए ।

जनमत पार्टीका १३ सांसद मध्ये समानुपातिकबाट निर्वाचित महिला उपाध्यक्ष बबिता ईशर, उपाध्यक्ष बसन्त कुशवाहा, महासचिव चन्दन सिंह, सप्तरी २(१) बाट निर्वाचित सतिश सिंह र सप्तरी २ (२) बाट निर्वाचन महेशप्रसाद यादवले दाबी गर्दै आएका थिए ।

जनमत पार्टीले यो प्रदेशमा सरकार नेतृत्वको दाबी गर्दै आइरहेकाे छ । जनमत पार्टीले सरकार नेतृत्वको जिम्मा पाए भने महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चितजस्तै छ ।

प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै जनता समाजवादी पार्टी (जसपा) समेतले दाबी गर्दै आएको छ । सत्ता गठबन्धनले यी दुवै दलबीच समन्वय गर्न नसक्दा अहिलेसम्म मधेश प्रदेशमा सरकार बन्नेबारे कुनै टुंगो लागेको छैन । कांग्रेसपछि जनमत दोश्रो दल हो जसले मधेशमा संसदीय दलको नेता चयन गरेको छ ।

एमाले र माओवादी केन्द्रीय अध्यक्षको निर्देशनको पर्खाइमा बसेका छन् भने जसपाले दलको नेता छान्न निर्वाचन समिति समेत गठन गरिसकेकाे छ । तर, पुस १८ र १९ गते पार्टीको बस्ने केन्द्रीय समितिको बैठकपछि कुनै निर्णय गरिने बताइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x