मधेश

शपथग्रहण लगत्तै मधेशमा दलका नेता बन्न दौडधूप

सुभाष कर्ण |
पुस १७, २०७९ आइतबार २०:९ बजे

जनकपुरधाम- मधेस प्रदेशमा सांसदहरूको शपथग्रहण लगत्तै मुख्यमन्त्री बन्न दलको नेताका लागि सत्ता गठबन्धनमा दौडधूप बढेको छ ।

खासगरी मधेस प्रदेश सरकारको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले दाबी गर्दै आएका छन् । शपथग्रहण लगत्तै भोलिपल्ट शनिबार जनमतले दलको नेता चयन गरिसकेका छन् भने जसपामा दौडधूप जारी छ ।


सत्ता गठबन्धनले बाँडफाँट गर्न नसक्दा मधेसमा कसको नेतृत्वमा सरकार भन्ने कुरा अन्यौल बन्दै गएको छ । हुनत जसपा र जनमत पार्टीको आलोपालो सरकार बन्ने आन्तरिक तयारी रहेको एमाले श्रोतले दाबी गर्दै आएको छ ।

सत्ता गठबन्धनको केन्द्रीय तहमा प्रदेशबारे छलफल हुन नसक्दा गठबन्धन आबद्ध दलहरू संसदीय दलको नेता समेत चयन गर्न सकेका छैनन् । गठबन्धन आबद्ध एमाले र माओवादी केन्द्रका सांसदहरू केन्द्रीय तहको निर्णयको पर्खाइमा बसेका छन् । केन्द्रीय निर्देशनको पर्खाइमा बसे पनि शपथग्रहणको डेटलाइन सकिएपछि यी दलमा पनि दौडधूप सुरु भइसकेको छ ।

प्रदेश सांसदहरूको शपथग्रहण सके लगत्तै एमाले, माओवादी र जसपाका सांसदहरू आ-आफ्ना दलमा शीर्षस्थ नेताहरूबीच दलको नेता बन्न लबिङ्गमा जुटेका छन् । हुनत जसपाले दलीय नेता चयनका लागि निर्वाचन समिति गठन गरिसकेका छन् । तर, त्यो प्रक्रिया पूरा गर्नका लागि मात्रै हो, अन्तिम निर्णय अध्यक्ष उपेन्द्र यादवकै हुने जसपा नेताहरूको भनाइ छ ।

यसअघि जनकपुरधाममा बसेको चुनावी समीक्षा बैठकका क्रममा दलको नेता बन्न वर्तमान मुख्यमन्त्री लालबाबु राउत, निर्वतमान सभामुख सरोज यादव, निर्वतमान उपनेता रामआशिष यादव र सांसद मनिष सुमन छुट्टाछुट्टै रूपमा अध्यक्ष यादवसँग भेटघाट गरेका छन् । तर, राजनीतिक समितिको बैठकपछि तोक्ने भनी तिनीहरूलाई आश्वासन दिइएको बुझिएको छ ।

हिजो केन्द्रीय कार्यसमितिको बैठकबाट जसपाले संघीय सरकारमा जाने र मधेस प्रदेश सरकार नेतृत्वका लागि पहल गर्न राजनीतिक समितिलाई जिम्मेवारी दिएको छ । दलका नेताका दाबेदारहरू राजनीतिक समितिका पदाधिकारीहरूसँग आ-आफ्ना लबिङ्ग सुरु गरेको बुझिएको छ ।

एमालेबाट रामचन्द्र मण्डल, शारदादेवी थापा, दिपेन्द्र ठाकुर र माओवादीबाट भरत साह दलका नेताका आकांक्षी छन् । जनमतले महेशप्रसाद यादवलाई चयन गरिसकेको छ । जसपा र जनमत बाहेक प्रदेश स्तरमा माओवादी र एमालेले पनि आ-आफ्ना तर्कसहित सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै आएका छन् । एमालेका सांसद दिपेन्द्र ठाकुरले भने, 'मधेस प्रदेशकाे सबैभन्दा ठूलो पार्टी एमाले रहेकाले सैद्धान्तिक आधारमा पनि एमालेले सरकारको नेतृत्व पाउनुपर्छ ।'

उनले मधेस प्रदेशको जिम्मेवारी एमालेले नपाए जनताले दिएको यति ठूलो मतको कदर नहुने र  बाँडफाँटमा पार्टी नेतृत्व वर्गले पनि ध्यान पुर्याउनुपर्ने बताए । 

माओवादीका भरत साहकाा अनुसार केन्द्रमा माओवादीले नेतृत्व पाएको छ भने यस प्रदेशमा पनि माओवादीले नै नेतृत्व पाउनुपर्ने हो । उनले जनताको चाहना पूरा गर्न माओवादीले मधेस प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताए ।

जसपाका प्रवक्ता एवं प्रदेशसभा सदस्य मनिष सुमनले मधेस प्रदेश सरकारको नेतृत्व जसपाले पाउनुपर्ने दाबी जायज रहेको बताउँदै भने, ‘सात दलीय गठबन्धनमा भागबन्डा भयो भने मधेस प्रदेश जसपाको भागमा पर्नुपर्ने हो र हाम्रो अपेक्षा पनि त्यही हो र पार्टीले सोही अनुसार तयारी पनि गरिरहेको छ ।'

यसैबीच उच्च श्रोतका अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिमा मधेस प्रदेशको सरकारको नेतृत्व जसपाले गर्ने सहमति भएको छ । सरकारको नेतृत्व पाएकाे जसपामा दलको नेता बन्न हानथाप सुरु भएको छ ।

स्रोतका अनुसार जसपाले मुख्यमन्त्री र २ जना मन्त्री पाउने छ । प्रदेश सरकारमा एमालेबाट बढी मन्त्री रहने छन् । सरकारमा माओवादी र जनमत पार्टीको पनि सहभागिता रहने सहमति भएको हो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x