मधेश

थप अक्सिजन किन्‍ने प्रदेश २ सरकारको निर्णय

इकागज |
बैशाख १७, २०७८ शुक्रबार ८:१३ बजे

जनकपुरधाम : कोभिड- १९ नियन्त्रणका लागि प्रदेश २ सरकारले थप अक्सिजन सिलिण्डर र रेमडिसिभिर खरिद गर्ने  निर्णय गरेको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्‍न उच्च स्तरीय बैठकमा कोभिडको पछिल्लो चरणमा अक्सिजनको आवश्यकता सबैभन्दा बढि देखिएको ठहर गर्दै सरकारी अस्पतालमा आक्सिजन सिलिण्डर भण्डारण गर्ने निर्णय गरेको हो ।

प्रदेशको १४ वटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न कोभिड महामारी रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ५/५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ ।


त्यस्तै संक्रमितका लागि महत्वपूर्ण औषधि मानिएको रेमडिसिभिर १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई सहमति दिने निर्णयगरेको छ । प्रदेशका आठवटै जिल्लामा पिसिआर मेसिन सञ्‍चालनमा आइसकेकोले जाँचमा समस्या नरहे पनि उपचारका लागि थप जनशक्ति परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकमा सहभागी सरोकारबाला निकायका प्रमुखहरुले कोभिड महामारीको वर्तमान अवस्था, रोकथामको उपाय र प्रदेश सरकारले चाल्नुपर्ने कदम बारे ब्रिफिङ्ग गरेका थिए ।


Author

थप समाचार
x