मधेश

मधेशको मुख्यमन्त्रीका लागि जसपा नेता यादवले गरे दाबी पेश

इकागज |
पुस २७, २०७९ बुधबार १२:३० बजे

जनकपुरधाम - मधेश प्रदेशको मुख्यमन्त्री पदका लागि जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले दाबी पेश गरेका छन् । जसपाको मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवले प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष मुख्यमन्त्रीका दाबी पेश गरेका हुन्। उनले ६३ सांसदकाे समर्थनसहित दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । यादवले एक दिनअगावै नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थनसहित दाबी पेश गरेका छन् ।


यसका अतिरिक्त स्वतन्त्र प्रदेससभा सदस्यहरू सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाई समर्थन रहेको छ । सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको १/१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरूसहित कुल ६३ जना प्रदेशसभा सदस्यहरूको लिखित समर्थन रहेको छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरूको समर्थन चाहिन्छ । यता मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ ।


Author

थप समाचार
x