जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादव पक्राउ
जनकपुरधाम- जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव यादव पक्राउ परेका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडका संचालक सदस्य समेत रहेका यादवलाई ठगी आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको हो । एक ऋणीले रकम चुक्ता गरिसकेपनि उनको जग्गा फिर्ता नगर्दा पीडित पक्षले उजुरी दिएको आधारमा पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
अध्यक्ष यादवको पारिवारिक सदस्यको नाममा धनुषाको यदुकोहा र जनकपुरधाम दुई ठाउँमा सञ्चालित सुनवर्षी बचत तथा ऋण सहकारी संस्थाबाट एक बचतकर्ताले जग्गा धितो राखि २५ लाख रुपैयाँ ऋण लिएका थिए ।
ती ऋणीले ऋण बापतको ब्याज रकमसहित चुक्ता गरेको तीन वर्ष बितिसक्दा पनि जग्गा फिर्ता नगर्दा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । सो उजुरीका आधारमा अनुसन्धानका लागि अध्यक्ष यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
उनले भने, 'एक महिलाले आफूले लिएको ऋणको रकम चुक्ता गरेको तीन वर्ष बितिसक्दा पनि जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पुर्याएपछि ती महिलाले उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा अनुसन्धान गर्न प्रहरीले अध्यक्ष यादवलाई पक्राउ गरिएको हो ।'
मुद्दा अनुसन्धानमा रहेकाले प्रहरीले पीडित महिलाको नाम खुलाएको छैन ।
‘प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको छ,’ डीएसपी क्षेत्रीले भने ।
यदुकोहाको सञ्चालित सो सहकारी संस्था अध्यक्ष यादवको श्रीमती विनिता यादवको अध्यक्षतामा दर्ता रहेको छ । जनकपुरधामस्थित सहकारी संस्था उनको नाममा रहेको बुझिएको छ । सुरुमा यदुकोहामा आफ्नै नाममा अध्यक्ष यादवले सुनवर्षी बचत तथा ऋण सहकारी संस्था दर्ता गराएका थिए । पछि जनकपुरधाममा संचालन गर्दा त्यहाँको संस्थामा श्रीमती विनितालाई अध्यक्ष बनाए र जनकपुरधामको संस्थामा आफैँ अध्यक्ष भए ।
अध्यक्ष यादवमाथि दर्जनौँ बचतकर्ताबाट संकलित करोडौँ रुपैयाँ ठगी गरेको आरोप समेत रहेको छ । पक्राउ परेका यादव मधेश प्रदेशको तत्कालीन कृषि मन्त्री शैलेन्द्रप्रसाद साहको सहकारीतर्फका सल्लाहकार समेत हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया