मधेश

मधेश प्रदेश : मुख्यमन्त्री यादवले पाए पूर्ण विश्वासको मत

इकागज |
माघ ४, २०७९ बुधबार १६:२० बजे

जनकपुरधाम। मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवले प्रदेशसभाबाट सर्वसम्मतबाट पूर्ण विश्वासको मत पाएका छन् । प्रदेश सभामा उपस्थित १ सय २ वटै प्रदेश सभा सदस्यले विश्वासकाे मत दिएका हुन् ।

१ सय ७ सदस्यीय प्रदेशसभामा १ सय २ जना प्रदेशसभा सदस्य मतदानमा सहभागी भएका थिए । १ सय ७ प्रदेशसभा सदस्य हुनुपर्नेमा माओवादीका २ प्रदेशसभा सदस्यको शपथ विवादका कारण रोकिएकाले हाल १ सय ५ जना सदस्य मात्र छन् । मतदानमा सहभागी भएका १ सय २ जना प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएपछि सर्वसम्मतले विश्वासको मत पाएका हुन् ।


मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिए । मुख्यमन्त्री यादवलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएका छन् ।

त्यस्तै मधेश प्रदेशको दोस्रो ठूलो दल नेपाली कांग्रेसले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको छ । प्रदेशसभामा प्रतिपक्षमा बस्नेगरी कांग्रेसका २२ जना प्रदेशसभा सदस्यहरुले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिए । नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना प्रदेशसभा सदस्यहरु समेत सदनमा प्रतिपक्षीमा बस्ने गरी विश्वासको मत दिएका हुन् ।

गत पुस २७ गते ६३ प्रदेशसभा सदस्यहरुको समर्थनमा यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जसपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री यादवले गत पुस २९ गते पद तथा गोपनियताको शपथ लिएका थिए ।


Author

थप समाचार
x