मधेश

मधेश प्रदेशमा तीन महिनाभित्र भ्रष्टाचारमुक्त बनाउने मुख्यमन्त्री यादवको दाबी

इकागज |
माघ ४, २०७९ बुधबार १९:३० बजे

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गरेका छन् ।

बुधबार प्रदेशसभाबाट विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारलाई शून्यमा पुर्‍याउने प्रतिवद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री यादवको भनाइ थियो । 


मुख्यमन्त्री यादवले सबै दललाई साथमा लिएर आफू अघि बढने कार्ययोजनासमेत सार्वजनिक गरे । सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उनको भनाइ थियो । मुख्यमन्त्री यादवले भने  ‘मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । अब मैले तीन महिनाभित्र प्रदेश सरकारका जति कार्यालयहरु छन । त्यसमा भ्रष्टाचार शून्य गरिदिन्छु । र, सबै दललाई मिलाएर एकसाथ लग्नेछु ।’ पाँच वर्ष प्रदेश सरकारबाट भएका कामहरुको छानविन गर्नका निम्ति पाँच सदस्यीय एउटा छानविन समिति गठन पनि गरिएको छ । ‘सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउनेछु । आवश्यक पर्‍यो भने पूरक बजेट पनि ल्याउन सकिन्छ ।’ उनले भने ।

उनले आवश्यक परे पुरक बजेट ल्याउन सकिने पनि बताए । बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका हुन् । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको सदनलाई जानकारी दिए । १०५ सदस्यीय प्रदेशसभामा ३ जना सांसद अनुपस्थित थिए । यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ ।

गत पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिँदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।
 


Author

थप समाचार
x