मधेश

जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय मेला हुँदै

सुभाष कर्ण |
माघ ८, २०७९ आइतबार १८:९ बजे

जनकपुरधाम- मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बृहत् व्यापारिक मेला 'जनकपुरधाम व्यापार मेला २०७९' आयोजना हुने भएकाे छ । ​जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा मेला हुन लागेकाे हाे ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूकाे सहभागिता रहने छ । भने, उनीहरूबीच अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम र सम्भाव्यता सिर्जना हुने पनि विश्वास आयोजकले लिएकाे छ ।


उक्त मेलामा स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

उनका अनुसार सो व्यापारिक मेलामा भारत, पाकिस्तान र बंग्लादेश लगायतका देशहरूमा निर्मित वस्तुका स्टल रहने छ ।

औद्योगिक अवसरहरूको सम्भावित अध्ययन तथा क्षेत्रीय स्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहित गरी स्थानीय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गरिने अध्यक्ष महासेठले बताए ।

आगामी फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने व्यापार मेलामा १५० भन्दा बढी स्टलहरू रहने छन् । उक्त मेलामा १ लाखभन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा आयाेजकले गरेकाे छ ।​

सिया इभेन्ट समेतको सहआयोजनामा हुने सो जनकपुरधाम व्यापार मेलामा पाइने विशेष सामानहरूमा अटोमोबाइल्स, गार्मेन्टस, कन्स्ट्रकसन बैंक, होम सप्लायर्स, हेल्थ एण्ड फिटनेस, छालाजन्य उत्पादन, किचनवेयर र यस क्षेत्रका स्थानीय तथा नवीनतम् उत्पादनहरू रहने बताइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x