जलवायु परितर्वनको जोखिम न्यूनीकरण गर्न तीनै तहको सहकार्य आवश्यक
जनकपुरधाम- जलवायु परिवर्तनले मधेश प्रदेशका जिल्लाहरूमा परेको असरबाट जोगिन तीनै तहका सरकारको सहकार्य आवश्यक रहेको कुरामा वक्ताहरूले जोड दिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जनकपुरधाममा आयोजित “संघ, प्रदेश, स्थानीय सरकार तथा समुदायमा आधारित संघ संस्थासँग जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी अन्तरक्रिया” कार्यक्रममा बोल्दै वक्ताहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्राधिकरणका सदस्य गङ्गालाल तुलाधरले जलवायु परिवर्तनका कारण मधेश प्रदेशका जिल्लाहरूमा परेको असर तीनै तहका सरकारको सहकार्यमा अघि बढे मात्रै न्यूनीकरण गर्न सकिने बताए ।
उनले चुरेको संरक्षण नभए आउँदो ३० वर्षभित्र मधेशका अधिकांश कृषियोग्य भूमि मरुभूमिमा परिणत हुने खतरा रहेकाले संरक्षणमा जुट्न आवश्यक भएको बताउँदै चुरेको दोहन हुने कुनै पनि गतिविधि मुलुकका लागि ठीक नभएकाे उल्लेख गरे ।
त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बर्सेनि रूपमा मधेश प्रदेशमा हुने खडेरी, बाढी, शीतलहर तथा आगलागीका प्रमुख कारण नै जलवायु परिवर्तन रहेको उनले बताए । यसबाट हुने क्षति न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको उनकाे भनाइ छ ।
उक्त कार्यक्रममा मधेश प्रदेशको समस्याका रूपमा रहेको बागमती, लालबकैया, कमला, खाँडोसहितका नदी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, प्रदेश सरकारका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया