मधेश

मधेश प्रदेशकाे संसद् भवन बनाइदिन राजदूत श्रीवास्तवसमक्ष आग्रह

सुभाष कर्ण |
माघ २०, २०७९ शुक्रबार २१:३६ बजे

जनकपुरधाम- नेपाल–भारत मैत्री युवा संघका अध्यक्ष तथा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मधेश प्रदेशका लागि संसद् भवन बनाइदिन भारतीय राजदूत नवीन श्रीवास्तवलाई आग्रह गरेका छन् ।

आज जनकपुरधाममा नेपाल–भारत मैत्री युवा संघको केन्द्रीय कार्यालयद्वारा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै सहमहामन्त्री यादवले मधेश प्रदेशका लागि संसद् भवन भारत सरकारले बनाई दिए यसबाट नेपाल–भारतको मित्रता राजनीतिक हिसाबले थप प्रगाढ हुने बताए ।


मधेशका जनता नेपालको सीमा सुरक्षा मात्र होइन रोटी बेटी र पारिवारिक सम्बन्ध रहेकाले भारतले मधेशलाई प्राथमिकतामा राख्नुपर्ने समेत उल्लेख गरे ।

कार्यक्रममा राजदूत श्रीवास्तवले एक से एक पौरानिक उदाहरणले नेपाल र भारतको सम्बन्ध दुई देशको मात्र नभई जनता जनताको सम्बन्धलाई प्रमाणित गरिरहेकाले विश्वकै पृथक् मित्रता रहेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम आएको बेला यहाँको विकासका लागि घोषणा गरेको १ अर्ब सहयोगका लागि प्रस्ताव लिएर आउन पुनः आग्रह गरे ।

सो कार्यक्रममा संघका धनुषा अध्यक्ष बजरंगप्रसाद यादव, प्रदेश सांसद शेषनारायण यादव, कुमारकान्त झा, लोसपा धनुषा अध्यक्ष परमेश्वर साह, भारतीय राजदूतका प्रोजेक्ट विभागका करुण वंशल, भारतीय वाणिज्य महादूतावास वीरगञ्जका महावाणिज्य दूत नीतेश कुमार,काउन्सिल शैलेन्द्र कुमार, संघका महासचिव कृष्णा सिंहसहित संघ, प्रदेशका सांसदहरू‚ पालिकाका प्रमुख र उपप्रमुखहरूसहित नागरिक समाजका अगुवा सहभागी थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x