मधेश

सात महिनापछि कमला नगरपालिकाकाे बजेट पारित

सुभाष कर्ण |
माघ २६, २०७९ बिहीबार १६:२२ बजे

जनकपुरधाम- लामाे समयपछि धनुषा जिल्लास्थित कमला नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमसहितको बजेट पारित भएकाे छ ।

दुई पक्षकाे विवादका कारण ७ महिनापछि छैटौँ नगर सभाबाट चालु आर्थिक वर्षकाे बजेट पारित भएकाे हाे । कमला नगरपालिकाको बजेट पारित नभएका कारण सो पालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूले तलब भत्ता पाउनबाट वञ्चित हुनुका साथै विकास निर्माणको कामकाज पनि बन्द नै रहेकाे थियाे । 


दुवै पक्षबीच सहमति भएपछि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट नगर सभाबाट पारित गरेको नगरपालिकाका नगरप्रमुख विषेश्वर यादवले जानकारी दिए । चालु आर्थिक वर्षका लागि कमला नगरपालिकाले ५५ करोड, ४५ लाख ४१ हजार ८ सय ७४ रुपैयाँको बजेट पारित गरेको हाे ।

नगरपालिकाले ९ वटै वडाका लागि ९५ लाखको दरले विकास बजेट विनियोजन गरेको छ भने वडा सञ्चालनका लागि ५ लाख प्रत्येक वडालाई दिने गरी बजेट विनियोजनसहितकाे सर्वसम्मतिले बजेट पारित गरिएकाे उनले बताए । पारित भएकाे बजेटमा शिक्षातर्फ १ करोड २२ लाख र स्वास्थ्यतर्फ ८० लाख विनियोजन गरिएकाे छ ।

नगर सभालाई सम्बाेधन गर्दै नगरपालिकाका नगरप्रमुख यादवले ढिलो गरी बजेट पारित भए पनि आर्थिक वर्ष सम्पन्न हुन ५ महिना मात्र बाँकी रहेकाले तीव्र रूपमा विकास निर्माणको काम अगाडि बढाउने भन्दै यसतर्फ लाग्न कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

नगरपालिकाले नगरको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधारको विकासमा विशेष जोड दिइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x