मधेश

१६ वर्षमा पनि शान्ति सम्झौतालाई निष्कर्षमा पुर्‍याउन सकिएन : उपराष्ट्रपति पुन

सुभाष कर्ण |
फागुन १, २०७९ सोमबार १७:० बजे

जनकपुरधाम- उपराष्ट्रपति नन्दबहादुर पुनले वृहत् शान्ति सम्झौता भएको १६ वर्ष पुगिसक्दा पनि शान्ति सझौतालाई पूर्ण निष्कर्षमा पुर्‍याउन नसकिएको बताएका छन् ।

सोमबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकार मातहतका शहीद प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले शान्ति सम्झौताको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत गर्नुपर्ने काम अझै सम्पन्न हुन नसकेको बताए ।


उनले जनयुद्ध दिवसको अवसरमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सरकारलाई शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउन आग्रह गरे । संविधानलाई दस्तावेजको संज्ञा दिँदै उनले भने, 'संविधानलाई परस्कृत, परिमार्जन तथा संशोधन गरेर समृद्ध बनाउन र पूर्ण कार्यान्वयन गर्न भने हामीले अझ थुप्रै मेहनत र प्रयास गर्नुपर्ने आवश्यकता रहेको छ ।'

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकार माओवादी केन्द्र नेतृत्वको रहेकाले प्रहरी समायोजन गरी प्रदेशको मातहतमा लगाउनुपर्ने, निजामती ऐन पारित गर्नुपर्ने र नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने माग गरे ।

सो कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्र, उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव, शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादव र माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता भरत साहलगायत व्यक्तिहरूले आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा जनयुद्धमा शहादत प्राप्त ५४० शहीद परिवारलाई एक लाख रुपैयाँका दरले राहत समेत वितरण गरिएको थियो । गत वर्षदेखि प्रदेश सरकारले जनयुद्ध दिवस मनाउँदै आएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x