मधेश

पर्यावरण अभियन्ता महतोको हत्या आरोप लागेका तीन जना दोषी ठहर

सुभाष कर्ण |
फागुन ३, २०७९ बुधबार १९:५० बजे

जनकपुरधाम । अवैध उत्खननको विरोध गर्दा हत्या गरिएका पर्यावरण अभियन्ता दिलिप महतो (ओमप्रकाश) को हत्या आरोप लागेका तीन जनालाई  जिल्ला अदालत धनुषाले दोषी ठहर गरेको छ । जिल्ला अदालत धनुषाले सो मुद्दामा विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोलाई दोषी ठहर गरेको हाे ।

बुधबार जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मुद्दाको फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरेको श्रेष्तेदार विकास बस्नेतले जानकारी दिए। विपिन र मुनिन्द्रले दिलीपको नियतपूर्वक हत्या गरेकाले उनीहरूलाई मुख्य कसुरदार ठहर गरेको बताउँदै जितेन्द्रलाई मतियारका रुपमा कसुरदार ठहर गरिएको श्रेष्तेदार बस्नेतले बताए ।


हत्या आरोप लागेका अन्य चार जनालाई भने जिल्ला अदालतले सफाइ दिएको छ । सफाइ पाउनेहरूमा रोशनकुमार यादव, शत्रुधन महत्तो, सत्यनारायण र विनोद महतो रहेका छन् । कसुरदारहरूलाई फागुन १२ गते न्यायाधीश गुरुङले सजाय निर्धारण गर्ने भएका छन् । धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपको २०७६ पुस २५ गते हत्या गरिएको थियो ।

यसैबीच जिल्ला अदालतको फैसलाप्रति दिलीप महतोको परिवारले असन्तुष्टि जनाएका छन् । सातै जनाको मिलेमतोमा दिलिपको हत्या गरिएको भए पनि अदालतले चारजनालाई सफाइ दिएकोमा दिलीपको परिवारले असन्तुष्टि जनाएको हो । दिलीपकी बहिनी लक्ष्मीले भनिन् ‘हामीले न्याय पाएको अनुभूति भएको छैन । सातैजना मिलेर मेरो दाईको हत्या गरेका थिए । अहिले चारजनालाई सफाइ दिन मिल्दैन । हामी चुप बस्दैनौं । उच्च अदालतसम्म जान्छौं ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x