मधेश

विश्वकै लामो धार्मिक पदयात्रा मिथिला परिक्रमा सोमबारदेखि सुरु

सुभाष कर्ण |
फागुन ६, २०७९ शनिबार १४:५३ बजे

फाइल तस्बिर

जनकपुरधाम- विश्वको सबैभन्दा लामो धार्मिक पदयात्राका रूपमा रहेकाे मिथिलाको ‘मिथिला माध्यमिकी परिक्रमा’ यस वर्ष फागुन ८ गते सोमबारदेखि विधिवत् रूपले सुरु हुने भएको छ ।

नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीकका रूपमा रहेकाे यस धार्मिक पदयात्रामा दुवै देशका लाखौँ श्रद्धालु भक्तजनहरू सहभागी हुँदै आएका छन् । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रूपमा रहेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा फागुन ८ देखि सुरु भई फागुन २३ गतेसम्म चल्नेछ ।


प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान् श्रीरामको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमामा घुम्ने गरिएकाे छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट फागुन औँसीका दिन निस्केका भगवान् राम र जानकीको डोला पहिलो दिन जनकपुरधामस्थित हनुमान नगरमा विश्राम गरेर त्यहाँबाट औपचारिक सुरुवात हुन्छ । ठेरा कचुरीबाट आएका मिथिला विहारीको डोला तथा जनकपुरधामको रत्नसागर र अग्निकुण्डबाट निस्कको किशोरीजीको डोला हनुमान नगरबाट एकसाथ उठ्ने छन् ।

परिक्रमामा सहभागीहरू क्रमशः फूलहरको गिरीजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् । कञ्चनवनमा अग्निकुण्ड मन्दिरको आयोजनमा परिक्रमामा सहभागीहरूले एक आपसमा होली खेलेपछि औपचारिक रूपमा होलीको सुरुवात भएको भएकाे मान्ने ग्निकुण्डका महन्थ नवल किशोर शरणले बताए ।

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरी कूल १३३ किलोमिटरको दूरीमा पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरू छन् । परिक्रमा अवधिभर सहभागीहरूले झाँकी, भजन, किर्तन पनि गर्छन् ।

मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा लाखौँको सहभागिता रहने गरे पनि यस धार्मिक यात्रालाई व्यावसायिक रूप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले आरोप लगाएका छन् ।

परिक्रमा गर्नेहरू राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्दा प्रत्येक वर्ष बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानी लगायतको व्यवस्था मिलाउने गरेको छ । स्थानीय बासिन्दाहरूले पनि परिक्रमामा सहभागीहरूका लागि अन्न, दाउराको प्रबन्ध मिलाउने गरेका छा् भने खानाको व्यवस्था सहभागी आफैँ वा स्थानीय तथा विभिन्न मठ मन्दिरहरूले गर्ने गरेका छा् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x