मधेश

मैथिली भाषाको उत्थानका लागि ३० लाख सहयोग गर्ने सभामुख मण्डलको घोषणा

सुभाष कर्ण |
फागुन ९, २०७९ मंगलबार २१:४७ बजे

जनकपुरधाम- मैथिली भाषाको विकास तथा उत्थानका लागि ३० लाख रुपैयाँको आर्थिक सहयोग गर्ने मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका छन् ।

मंगलबार मैथिली विकास कोषद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित ‘मातृभाषामे शिक्षा’ विषयक कार्यक्रममा बोल्दै सभामुख मण्डलले मैथिली भाषाको विकासका लागि आफ्नो संसदीय विकास कोषको रकमबाट सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।


यसका साथै प्रदेशको कामकाजी भाषाका रूपमा मैथिलीलाई बनाउन आफू गम्भीर भई लागेको समेत बताए । मण्डलले मातृभाषाको विकासका लागि प्राथमिक तहको शिक्षा मातृभाषामा हुनुपर्नेमा जोड दिए । उनले यसका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, 'मैथिली भाषामाथि अहिले संकट छ, मैथिली भाषालाई सीमित जातजातिको अधिपत्य मात्र रहेकाले सबैको अपनत्व नभएसम्म संकट कायम रहनेछ ।'

मण्डलले मैथिली भाषालाई सबै जातजातिको हृदयमा बास गर्ने गरी बनाउनका लागि भाषाको सरलीकरण तर्फ ध्यान दिन आग्रह समेत गरे । 

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले प्रदेशको कामकाजी भाषाको निष्कर्षमा लाग्न नसकेको प्रति चिन्ता व्यक्त गरेका थिए । मधेस प्रदेश सरकारको एक कार्यकाल समाप्त भइसके पनि प्रदेशको कामकाजी भाषाको विषयमा सरकारले कुनै निष्कर्ष लगाउन नसक्नु दुःखद रहेको उनीहरूकाे भनाइ छ ।

प्रदेशसभा सदस्य रामसरोज यादवले माध्यमिक स्तरसम्मको शिक्षाको अधिकार प्रदेश मातहत ल्याउन सरकारसँग माग गरे । उनले माध्यमिक तहसम्मको शिक्षा प्रदेश मातहत नआएसम्म मातृभाषामा शिक्षा नारामै सीमित रह्ने बताए । भाषाविद् डा. रामावतार यादवले असंख्य आमाहरू नै आफूले बोलिरहेको भाषाको विषयमा जानकार नहुनु दुःखद रहेको बताए ।

उनले सन् १९५२ फरवरी २१ मा बंगलादेशको ढाका विश्वविद्यालयमा भएको भाषिक आन्दोलनमा पाँच जनाले शहादत दिएपछि मातृभाषा संस्थागत रूपमा अभियान भएको र पछि सोही दिनलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रूपमा मनाउन थालिएको जिकिर समेत गरे ।

वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले मैथिली भाषा तथा मातृभाषाप्रति स्नेह राख्ने नेताहरूलाई मात्रै मत दिन आग्रह गरे । उनले मैथिली भाषा खुट्टाको बलमा नभई सधैं टाउकोको बलमा मात्र चल्ने गरेकाले आज संकटमा परेको बताए । यस्तै मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोष कापडि भ्रमरले प्रतिष्ठानको तर्फबाट मैथिली भाषाको विकास र शब्दकोष निर्माण गर्ने प्रतिबद्वता व्यक्त गरे ।

कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, तमलोपाका अध्यक्ष वृशेषचन्द्र लाल, पूर्वसांसद परमेश्वर साह, साहित्यकार रोशन जनकपुरी, परमेश्वर कापडि, महेन्द्र मिश्र, रमेश रञ्जन झा, पुनम झा मैथिली, नेतृ विभा ठाकुर, कलाकार अनिता मण्डल लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x