मधेश

भूमिहीनहरू अनिश्चितकालका लागि धर्नामा

सुभाष कर्ण |
फागुन ११, २०७९ बिहीबार २०:५७ बजे

जनकपुरधाम- मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा भूमिहीनहरू अनिश्चितकालका लागि धर्नामा बसेका छन् ।

चुरे तथा वन जङ्गल संरक्षण अभियानीका राष्ट्रिय संयोजक सुनिल यादवको नेतृत्वमा सयौंको संख्यामा जनकपुरधामस्थित राराब क्याम्पसको पूर्वपट्टी गुठी संस्थानको खाली जग्गामा भूमिहिन सुकुम्बासीहरूले जग्गासहित विभिन्न ५ बुँदे माग राख्दै धर्नामा बसेका हुन् ।


अनिश्चितकालीन धर्ना भनिए पनि मधेश प्रदेशका ८ वटै जिल्लाका विभिन्न गाउँ गाउँबाट आएका धर्नामा बस्न आएका भूमिहीन भनिएकाहरू यो जग्गा नै सरकारले आफूहरूलाई दिएको भनी जग्गा छेक्दै आआफ्ना सिलाखुट्टा समेत गाड्न सुरु गरेका छन् । धर्नामा बस्ने भनिएकाहरूले १०/१५ दिनका लागि राशनपानी र लत्ताकपडासहित बोकेर आएका छन् । 

धर्ना भनी बस्न धनुषाधाम नगरपालिकास्थित गणेशपुर गाउँबाट आएकी रामसुनर देवीले आफूहरूलाई जनकपुरमा सरकारले जग्गा दिन्छ भनेर बोलाएको बताइन् । त्यस्तै हरिनेकी मुनिया खातुनले पनि आफूहरूलाई सरकारले भूमिहीनलाई जग्गा दिन्छ भनेर बोलाएको बताइन् ।

धनुषा सखुवा मडानका गंगा मुखियाले आफूहरू पाँच वर्षदेखि बसोबासका लागि जग्गा दिन सरकारविरुद्ध आन्दोलन गर्दै आए पनि प्रत्येक पटक सरकारले ठग्दै आएका कारण अब अनिश्चितकालीन धर्नामा बस्ने उद्देश्यले आएको बताए । 

यस सम्बन्धमा अभियानका संरक्षक सरोज रायले यहाँ जग्गा कब्जा गर्न नभइ अनिश्चितकालीन धर्ना बस्नका लागि आएकाे बताए । 

अभियानका संयोजक सुनिल यादवले पटक पटक आन्दोलन गरेपनि सरकारले आफूलाई ठग्दै आएकाले भूमि अधिकारका लागि जन आवाज आन्दोलन अन्तर्गत आजदेखि अनिश्चितकालीन धर्ना सुरु गरेको बताउँदै जबसम्म आफूहरूको माग पूरा हुँदैन तबसम्म धर्ना जारी रहने चेतावनी दिएका छन् । उनले भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकका रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको बताए ।

चुरे तथा वन जङ्गल संरक्षण अभियान र मधेस प्रदेश सरकारबीच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग समेत अभियानीहरूले अघि सारेका छन् ।

धर्ना दिनुअघि अभियानका नेतृत्वमा भूमिहीन भनिएकाहरूले आफ्ना मागसहित नगरमा जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x