कर्मचारी र वैकल्पिक ऊर्जा अभावले उच्च अदालतको काम प्रभावित
जनकपुरधाम- कर्मचारी र न्यायाधीश अभावले उच्च अदालत जनकपुरधामको न्याय सम्पादन कार्य प्रभावित बनेको छ ।
उच्च अदालत जनकपुरधामले जनशक्तिको अभावमा मुद्दा फैसलाको काम अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको जनाएको छ । उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोंडारीले जनशक्ति अभावमा मुद्दा फैसलाको काम प्रभावित भइरहेको बताए ।
उनले यहाँ १२ जना न्यायाधीशको दरबन्दी रहे पनि ७ जना मात्रै कार्यरत रहेको जानकारी दिए । न्यायाधीश अभावका कारण उच्च अदालत जनकपुरमा दैनिक ६ वटा बेन्चमा ३ वटा बेन्च मात्रै बस्दै आएको जनाए ।
दैनिक ३ सयको संख्यामा सेवाग्राही आउने गरेका कारण कार्यसम्पादनका लागि आफूहरू बिहान ७ देखि बेलुकी ६ बजेसम्म काम गर्दा पनि कर्मचारी अभावले मुस्किलले ६०/६५ वटासम्म मुद्दाको पेशी हुने गरेको ढोंडारीले जानकारी दिए ।
५ जना न्यायाधीशको पदपूर्ति गरिए आगामी दिनमा न्यायिक निरूपणलाई शीघ्रता दिन सकिने उनको विश्वास छ । स्वच्छ सुनुवाइ र छिटोछरितो न्याय सम्पादनका लागि समयबद्ध तालिका बनाएर कार्ययोजनासहितको न्याय निरूपणमा लाग्ने उनले बताए ।
कर्मचारी र न्यायाधीशका साथै वैकल्पिक ऊर्जाको समेत अभावका कारण कामकाज प्रभावित हुने उनको भनाइ छ । उनले भने, 'गर्मी मौसमको सुरुवात भएसँगै अब विद्युत् कटौति पनि बढ्ने भएकाले उच्च अदालत जनकपुरको कामकाज प्रभावित हुने देखिन्छ ।'
साेलार भए पनि ब्याट्रीहरू पुरानो हुँदा कामै नलाग्ने भएकाले विद्युत् कटौती हुँदा अति आवश्यक बयानहरू कर्मचारीको व्यक्तिगत ल्यापटपबाट लिनुपर्ने बाध्यता रहेको ढोंडारीले सुनाए । उनले पेपरलेस कामहरू जस्तै आदेश तयार गर्ने, फैसला लेखन कार्य लगायतका कामहरू विद्युत् कटौती हुँदा प्रभावित हुने गरेको जानकारी दिए ।
हुन त यसअघि अर्थ मन्त्रालयले मेसिनरी खरिद, मरम्मत सम्भार लगायतका शीर्षकमा ३ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि त्यसबाट अधिकांश पैसा फिर्ता नै भएको एक कर्मचारीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया