मधेश

वातावरणीय प्रदूषण हुने गतिविधि नगर्न आग्रह

इकागज |
फागुन १८, २०७९ बिहीबार २०:८ बजे

जनकपुरधाम- वातावरणीय प्रदूषण हुने गतिविधिहरू नगर्न उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेस प्रदेशले आग्रह गरेको छ ।

प्रदेशभित्र ध्वनि प्रदूषणका कारण जनजीवनमा परेको कठिनाइप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेको हो । 
धार्मिक, सांस्कृतिक रूपमा मनाइने एवं सञ्चालन गरिने विवाह, व्रतबन्ध, मेला, जात्रा महोत्सव कार्यक्रमहरूमा चर्को आवाजमा डिजे, लाउडस्पीकर बजाउने, सार्वजनिक स्थानहरूमा होहल्ला गर्नेजस्ता गतिविधिका कारण ध्वनि प्रदूषण हुन गई दैनिक जीवनयापन, बिरामीको स्वास्थ्य अवस्था, अध्ययन अध्यापन, स्वास्थ्य संघ संस्थाहरूको सेवा प्रवाह लगायतका कार्यमा असर परेको जनगुनासोहरू प्राप्त भएकोले ध्वनि प्रदूषण नहुने गरी कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।


साथै होली पर्वको अवसरमा म्याद नाघेका विभिन्न प्रकारका केमिकलयुक्त रंगअबिर, वातावरण तथा मानव स्वास्थ्यलाई प्रतिकूल असर पुर्‍याउने खालका रंग, अबिरहरू प्रयोग नगर्न पनि प्रदेशभित्रका सम्पूर्ण सरोकारवालाहरूलाई मन्त्रालयका प्रवक्ता सुजितकुमार झाले आग्रह गरे ।


Author

थप समाचार
x