मधेश

मन्दिरमा चोरी गरेको आरोपमा हतियारसहित ५ पक्राउ

इकागज |
फागुन २०, २०७९ शनिबार १६:५८ बजे

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ रमदैयास्थित राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका ५ का रजाक मोहमद, विदेह नगरपालिकाका मोहमद हबगुल्ला साह, नसरुदिन साह, सरिफ मुसलमान र कमला नगरपालिकाका रमेशकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेका आरोपितहरु, बरामद भएका चोरीका सामानहरु, एक थान पेस्तोल र त्यसमा लाग्ने गोली तथा नगद ११ हजार पाँच सय रुपैयाँसहितका सामग्री सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले प्रहरी टिमको निरन्तर सक्रियताले चोरलाई पक्राउ गर्न सफल भएको बताए ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले मन्दिरमा जडान भएको सिसिटिभि फुटेज तथा भिडिओहरूको सुक्ष्म विश्लेषण गरी चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

सिसिटीभी फुटेजमा आएको अनुहारको आधारमा पक्राउ गरिएको र अझै तीन/चारवटा मन्दिरमा चोरी भएको घटनाको अनुसन्धानमा पनि सक्रिय रुपमा लागेको उनले बताए ।

उनीहरूको खोज तलास गर्ने क्रममा शुक्रबार राति सरिफ मुसलमानलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले योजनाबद्ध तरिकाले भारततर्फ जाँदै गरेकाे अवस्थामा जनकनन्दनी गाउँपालिका वडा नम्बर–३ महुवास्थित भारतीय सीमा नजिक रेल्वे ट्याकको बाटो हुँदै भारततर्फ जाँदै गरेको अवस्थामा मन्दिरबाट चोरी भएका सामानसहित उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी खड्काले बताए ।

गएको फागुन १४ गते शनिबार मध्यराति मन्दिरको ताला तोडेर ती चोरहरुले माता राजदेवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्री, कानको झुम्का लगायतको सुनचाँदीको सरसामानहरू तथा दानपेटीमा रहेका नगद रुपैयाँसहित चोरी गरेर फरार भएका थिए ।

पक्राउ परेका उनीहरूको समूहले नै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ कुवास्थित हनुमान मन्दिरमासमेत चोरी गरेको भन्ने बुझिएकोमा थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x