मधेश

राराब स्ववियु सभापतिका लागि ६ जनाको उम्मेदवारी

इकागज |
फागुन २७, २०७९ शनिबार १९:३८ बजे

जनकपुरधाम - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिका लागि जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराबको स्ववियु सभापतिमा लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्यार्थी संघ, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, ५ दलीय गठबन्धनको संयुक्त विद्यार्थी गठबन्धनको तर्फ जनता समाजवादी पार्टी (जसपा) का समाजवादी विद्यार्थी युनियन, जनमत पार्टीनिकट विद्यार्थी जनमत संघ, स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय विद्यार्थी परिषदले उम्मेदवारी दर्ता गराएका हुन् ।


लोकतान्त्रिक विद्यार्थी संघको तर्फबाट प्रशान्त झा, नेपाल विद्यार्थी संघको तर्फबाट मनिषकुमार यादव, ५ दलीय गठबन्धनको संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादव, जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैया कुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिशेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएको राराब क्याम्पस स्ववियु निर्वाचन समितिका सदस्य सचिव गुलजार राउतले जनाएको छ ।

पाँच दलीय संयुक्त विद्यार्थी गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राप्रपानिकटका विद्यार्थी संगठन छन् । 

२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको राराब क्याम्पस स्ववियु निर्वाचन समितिका सदस्य सचिव गुलजार राउतले जनाएको छ । रारावको स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित भएर चुनिने छन् ।


Author

थप समाचार
x