मधेश

खाली देखिने राराब क्याम्पस भरिभराउ

इकागज |
फागुन २८, २०७९ आइतबार २२:१२ बजे

जनकपुरधाम - केही साताअघिसम्म खाली खाली देखिने जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पस अहिले भरिभराउ देखिन थालेको छ । 

करिब डेढ दशकपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनले गर्दा न्यून संख्यामा विद्यार्थी देखिने सो क्याम्पसमा चुनावको मिति नजिकिदैंजाँदा विद्यार्थीहरूको आवागमन बढ्न थालेको  हो । कुनै समयमा विद्यार्थीले अवसर नै पाउन शैक्षिक सत्र नै कुर्नुपर्ने अवस्थामा रहेको राराब क्याम्पस एक दशकदेखि विद्यार्थी विहीन बनेको थियो ।  


डेढ दशकअघिसम्म नेपालकै प्रमुख क्याम्पसको चर्चा बटुलेको राराब क्याम्पस एक दशक यतादेखि पढाई भन्दा पनि परीक्षा दिएर डिग्री लिने थलोको रुपमा परिचित थियो । तर दुई÷तीन वर्षदेखि प्राविधिक शिक्षा अवलम्बन गर्न थालेपछि विद्यार्थीको संख्या दोब्बरले वृद्धि भएको छ । प्राविधिक शिक्षाले विद्यार्थीको संख्यामा ह्वातै वृद्धि भएपनि प्राविधिक शिक्षा बाहेक परम्परागत संकायमा विद्यार्थी हेर्न मुस्किल छ ।

केही दिनदेखि मात्रै विद्यार्थीको संख्या बढेकोले राराब क्याम्पस विद्यार्थीहरुको रोजाइभन्दा राजनीतिक आस्थाको केन्द्र बन्न गएको प्रष्ट हुन्छ । आइतबार करिब ९ देखि १० बजे सम्म क्लासको समय भएपनि अधिकांश विद्यार्थी कक्षा कोठा छोडेर क्याम्पस परिसरमा चुनावी तयारीको कुरा गर्दै थिए । प्राविधिक शिक्षा तर्फका बिबिए, बीएसआईटी र परम्परागत शिक्षातर्फ बाणिज्य संकायका केही विद्यार्थीहरू कक्षा कोठामा पढिरहेको देखियो भने अन्य संकायका कक्षाकोठा खाली थिए । 

स्ववियुमा नेतृत्वका लागि उम्मेदवार बनेका विद्यार्थी नेताहरु क्याम्पस परिसरमा विद्यार्थीहरूलाई जम्मा गरेर मतदानका लागि सम्झाई रहेका छन् ।  शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलाप सुनसान हुने क्याम्पसमा स्ववियु निर्वाचनको प्रभावले चहलपहल बढेको छ । क्याम्पसका प्राध्यापक र कर्मचारीहरूले स्ववियु निर्वाचनका कारण चहल पहल बढेको बताए ।

क्याम्पस प्रमुख प्रदिप यादवले पठनपाठनका लागि विद्यार्थीहरू पहिलादेखि नै ४० प्रतिशतको हाराहारीमा आइरहेको बताए । 'तर अहिले स्ववियू निर्वाचनले गर्दा क्याम्पसमा बढी नै चहल पहल बढेको छ', उनले भने । राजनीतिले व्यक्ति, परिवार, समाज कसैलाई पनि नछोडेकाले युवा विद्यार्थीहरुमा पनि त्यसको असर पर्नु स्वाभाविक नै भएको उनको तर्क छ । 

देशकै जेठो क्याम्पसको रुपमा रहेको २०१४ सालमा स्थापित करिब सात दशक पुरानो यस राराब क्याम्पससहित अन्य क्याम्पसको दुरावस्थामा सरकार र त्रिभुवन विश्वविद्यालय नै प्रमुख दोषी रहेको क्याम्पस प्रमुख यादवले आरोप लगाए । उनले भने, 'त्रिविले पढाउने संकायहरुको इजाजत आंगिक क्याम्पस बाहेक अन्य निजी कलेज/क्याम्पसहरूलाई समेत दिने गरेको कारण विद्यार्थी संख्यामा कमी हुन गएको हो । त्यसको परिणाम निजी क्याम्पसमै राम्रो पढाइ हुन्छ भन्ने विद्यार्थीहरूको मनोविज्ञानमा बसेको कारण यहाँ विद्यार्थीको संख्यामा कमी हुनु स्वाभाविक नै हो ।'

राज्यको गलत नीतिकै कारण सरकारी क्याम्पसको अवस्था दयनीय रहेको बताउँदै उनले अझै केही नबिग्रेकोले नीतिमा परिवर्तन गरेर सीमित संकायको इजाजत मात्र निजी कलेज/क्याम्पसहरुलाई दिनुपर्ने सुझाव दिए । इजाजत र पदाधिकारी, शिक्षक/कर्मचारीको समयमै सरुवा बढुवा पदपूर्ति र प्राविधिक शिक्षामा जोड दिए राराब क्याम्पस मात्र नभइ त्रिविको सबै आंगिक क्याम्पसको अवस्थामा सुधार आउन उनले बताए । 

यता विद्यार्थी नेताहरू भने डेढ दशकसम्म स्ववियु नेतृत्वविहिन बनेकाले क्याम्पस प्रशासनले गर्दै आएको मनमौजीको कारणले क्याम्पसहरुको अवस्था दयनीय हुन गएको आरोप लगाए । स्ववियु सभापतिमा उम्मेदवार बनेका नेविसंघका मनिष कुमार यादव र जविसंघका मो. ईजाज मोमिनले क्याम्पस प्रशासनको मनपर्दीले क्याम्पसहरुको अवस्था दयनीय हुन गएको बताए ।

जनकपुरधामका समाजसेवी दाताहरु रामस्वरुप साह र रामसागर साह तथा उनका परिवारले आफ्नो निजी करिब ६९ बिघा जग्गा दान गरि स्थापना गरिदिएको सो क्याम्पसले जनकपुरधाम र धनुषालाई मात्र नभइ नेपालकै दर्जनौ  जिल्लालाई कुनै समयमा साक्षर बनाउने काम गरेको थिए । तर हाल जीर्णोद्धार र संरक्षणको अभावमा दयनीय अवस्थामा पुगेको छ । संरक्षण र सरसफाइको अभावमा केही भवनहरु जीर्ण बनेका छन् । 


Author

थप समाचार
x