मधेश

भूमिहीन सुकुम्बासीहरूले भूमि आयोग धनुषामा लगाए ताला

इकागज |
फागुन ३०, २०७९ मंगलबार १९:५७ बजे

जनकपुरधाम। राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनुषामा भूमिहीन सुकुम्बासीहरूले तालाबन्दी गरेका छन् । चुरे तथा वनजंगल जनआवाज अभियानका धनुषा जिल्ला संयोजक जुगति यादवको नेतृत्वमा भूमिहीन सुकुम्बासीहरुले जनकपुरधामस्थित राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन् ।

भूमिहीनलाई जग्गा र ऐलानी जग्गामा बस्नेलाई लालपूर्जा उपलब्ध गराउनका लागि राष्ट्रिय भूमि आयोगको गठन भए पनि आयोगले यसतर्फ कुनै चासो नदिँदा आफूहरु बाध्य भएर तालाबन्दी गरेको अभियानका संयोजक यादवले बताएका छन् ।


'आफूहरु फागुन ११ गतेदेखि नै जनकपुरधामस्थित जनकचोकमा धर्नामा बस्दा पनि आयोगले अहिलेसम्म कुनै चासो लिएको छैन । भूमिहीन सुकुम्बासीहरूले आफ्नो अधिकारका लागि १९ दिनदेखि निरन्तर २४ घण्टे धर्नामा बसेका छन् । यतिका दिनदेखि धर्नामा बसेपनि राष्ट्रिय भूमि आयोग मस्त निद्रामा सुतेकोले हामी बाध्य भएर सम्बन्धित निकायलाई झकझकाउनका लागि ताला लगाएका छौं ।' संयोजक यादवले भने ।

यसअघि चुरे तथा वनजंगल अभियानकै नेतृत्वमा भूमिहिन सुकुम्बासीहरुले मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कार्यालय घेराउ गरेका थिए । चुरे तथा वनजंगल अभियानीहरुले अनिश्चितकालीन धर्नालाई निरन्तरता दिदैं सम्बन्धित मन्त्रालय तथा सरकारी कार्यालयहरूमा तालाबन्दी तथा कार्यालय घेराउ सहितका दोश्रो चरणका आन्दोलनको घोषणा गरेका छन् । सोही आन्दोलनको क्रममा जनकपुरधामस्थित राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।


Author

थप समाचार
x