मधेश

माग पूरा हुने प्रतिबद्धता पाएपछि चुरे अभियानीले तोडे अनशन

सुभाष कर्ण |
चैत १८, २०७९ शनिबार १८:४२ बजे

जनकपुरधाम- विभिन्न माग राख्दै आमरण अनशनमा बसेका चुरे वन जंगल संरक्षण अभियानले माग सम्बोधन हुने आश्वासन पाएपछि एक दिन नबित्दै आमरण अनशन तोडेका छन् ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले एक साताभित्र वार्ता गरी माग सम्बोध गर्ने मौखिक आश्वासन दिएपछि आमरण अभियानका संयोजक सुनिल यादवले अनशन तोडेका हुन् ।


६ सुत्रीय मागसहित शुक्रबार दिउँसो ५ बजेदेखि जनकपुरधामको जनकचोकमा आमरण अनशन बसेका अध्यक्ष यादवलाई शनिबार मुख्यमन्त्री यादवले जुस खुवाएर अनशन तोडाएका हुन् । मुख्यमन्त्री यादवले एक साताभित्र वार्ता टोली बनाएर अभियानको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

आमरण अनशन तोडाउन धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दहालले समन्वय गरेका थिए भने त्यस बखत वन उद्योग तथा पर्यटनमन्त्री सुनिता यादवसमेत उपस्थित रहेकी थिइन् । विगतमा आमरण अनशन बस्दा मधेश सरकारले गरेको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, अतिक्रमित चुरे वन जंगलको जग्गा अतिक्रमणमुक्त, भूमिहीन, दलित सुकुम्बासीलाई भूमि अधिकार, गैरदलीय निर्वाचन प्रणालीमा दलितलाई प्रत्यक्ष निर्वाचनमा सिटको सुनिश्चितता, वन निर्देशनालयले बनाएको प्रतिवेदनलाई पुनः सत्यतथ्य छानबिन गरी नयाँ प्रतिवेदन बनाउनुपर्ने र अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने लगायतका माग राखी संयोजक यादव आमरण अनशनमा बसेका थिए ।

यसअघि फागुन ११ गतेदेखि जनआवाज आन्दोलन अन्तर्गत चुरे अभियान तथा भूमिहीन सुकुम्बासीहरूले जनक चोकमै २६ घण्टे अनिश्चितकालीन धर्नामा बसेका छन् । धर्ना कार्यक्रमबारे सरकारले कुनै चासो नदेखाएपछि शुक्रबार उनी अधिकारका लागि मर्नैपर्छ भनेर आमरण अनशनमा बसेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x