मधेश

सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्न सुझाव

सुभाष कर्ण |
चैत १९, २०७९ आइतबार २१:५४ बजे

जनकपुरधाम- सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्न सुझाव दिइएको छ । सामाजिक तथा धार्मिक सद्भावका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बृहतर सद्भाव बैठकमा यस्तो सुझाव दिइएको हो ।

रामनवमीका दिन हिन्दु सम्राट सेनाले गरेको शक्ति प्रदर्शनले सामाजिक सद्भाव बिगार्ने काम भएको आवाज उठ्न थालेपछि सोबारे सरोकारवालाहरूबीच बैठक बसेको थियो । बैठकमा धर्मको नाउँमा केही व्यक्तिले वर्षौंदेखिको सामाजिक सद्भाव बिगार्ने काम गरेको बताउँदै त्यस्तालाई नियन्त्रणमा लिएर कारबाही गर्न स्थानीय प्रशासनलाई सहभागीहरूले सुझाव दिएका छन् ।


धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बोलाएको बैठकमा जानकी मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, हिन्दूवादी संघ संस्थाका प्रमुखहरू, मुस्लिम समुदायका धर्मगुरु तथा अगुवाहरू सहभागी थिए । कार्यक्रममा आ–आफ्नो धर्म संस्कृति अनुसार चाड पर्व मनाउँदा अर्कालाई आघात पार्ने कुनै प्रकारको गतिविधि नगर्ने विषयमा सबै पक्ष सहमत भएको जनाइएको छ ।

साना घटनालाई ठूलो बनाएर सामाजिक सञ्जालमा राखेर ठूलो बनाउन खोज्नेको पहिचान गरेर कारबाही गर्नका लागि स्थानीय प्रशासन समक्ष दुवै पक्षका अगुवाहरूले आग्रह गरेका छन् । धार्मिक सांस्कृतिक सभा जुलुस गर्दा वा निकाल्दा कुनै प्रकारको घरेलु हातहतियार लिएर नगर्ने, जुलुस वा सभा गर्दा स्थानीय प्रशासनसँग अनिवार्य रूपमा इजाजत लिनुपर्ने विषयमा सहभागीहरूले सुझाव दिएका थिए । 

साथै कुनै पनि धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्दा डिजे तथा हर्नको प्रयोग नगर्ने र कसैले गरेको खण्डमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने निर्णय पनि बैठकले गरेको बुझिएको छ । गत रामनवमीका दिनमा दुई धार्मिक समुदायका बीचमा विवाद उत्पन्न गराउन खोज्ने माथि कारबाही हुनुपर्ने बैठकमा अधिकांशले बताएका थिए । बैठकले एक समुदायको चाडपर्वमा असर पार्ने गतिविधि अर्को पक्षबाट नगर्ने निर्णय समेत भएको छ ।

बैठकमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले साम्प्रदायिक सद्भाव बिगार्ने काम कहीँकतैबाट हुनु समाजका लागि ठीक नभएको बताउँदै यस्तो गतिविधि गर्नेको पहिचान गरेर कारबाही गर्नका लागि सुझाव दिए । जनकपुरधाम उद्योग वाणिज्य संघले सामाजिक सद्भाव बिगारेर थला पारेको व्यापार व्यवसायलाई थप संकटमा पार्ने प्रयास हुनु गम्भीर चिन्ताको विषय भएको बताए । 

कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साह, विभिन्न पालिकाका जनप्रतिनिधिहरू व्डाका वडाध्यक्षहरू विभिन्न राजनीतिक दलका जिल्लास्थित अध्यक्षहरू, मदर्शाका मोलानाहरु, मुस्लिम अगुवाहरू, सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका अगुवाहरू तथा हिन्दूवादी संघ संस्थाका पदाधिकारीहरूकाे सहभागिता थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x