मधेश

वडा कार्यालय सारिएको भन्दै स्थानीय आन्दोलित

सुभाष कर्ण |
चैत २०, २०७९ सोमबार १४:२६ बजे

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-२३ को वडा कार्यालय साबिककै ठाउँमा राख्नुपर्ने माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

साबिक बिन्धीमा रहेको वडा कार्यालय लादोबेलास्थित दुधमति पुल नजिक गोविन्द सेवा समिति राखेर कार्य सञ्चालन गरेपछि वडाध्यक्ष राघवेन्द्र साहविरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । बिन्धीस्थित वडा कार्यालयमा वडाध्यक्ष र सचिव विगत केही दिनदेखि नबस्दा स्थानीयको कामकाज प्रभावित रहेकाले साबिककै वडा कार्यालयबाट काम सुचारु गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।


स्थानीय चन्दन रायले साह वडाध्यक्षमा निर्वाचित भएर आएदेखि नै सो वडामा जातीय तथा क्षेत्रीय द्वन्द्व फैलाउनुका साथै वडावासीहरूबीच आपसि मतभेद गराउन खोजेको आरोप पनि लगाएका छन् ।

वडाध्यक्ष साहले गैरकानुनी रूपले कुनै लिखित सूचना नदिई कसैको जानकारीबिना वडा कार्यालयलाई आफू अनुकूल अन्यत्र सारेर अस्थायी वडा कार्यालय निर्माण गरी बस्नु गलत रहेको पूर्ववडाध्यक्ष शत्रुधन पाण्डेले बताए ।

धर्नामा बसेका स्थानीयहरूले साबिकको ठाउँमा छिटोभन्दा छिटो वडा कार्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै चाँडै सुचारु नभए कडा रूपमा अगाडि बढ्ने चेतावनी समेत दिएका छन् । वडा कार्यालय सार्ने विषयलाई लिएर बिन्धीवासीले निरन्तर विरोध गर्दै आइरहेका छन् । बिन्धीमा वडा कार्यालय रहँदा सबैलाई पायक पर्ने, सबै वडावासीहरूलाई सहज बाटोको व्यवस्था भएकाले पनि सो कार्यालय अन्यत्र सार्न नहुने स्थानीयको माग छ ।

यसैबीच, जनकपुरधाम उपमहानगरपालिकाले साविक वडा कार्यालयबाट कार्य सञ्चालन गर्न पत्राचार गरे पनि वडाध्यक्ष साहले उपमहानगरको निर्णयलाई समेत अटेर गर्दै आएको आरोप लागेकाे छ । गत चैत ९ गते नै उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले वडाध्यक्ष साहलाई पत्राचार गर्दै साविककै बिन्धीस्थित वडा कार्यालय भवनबाट कार्य सञ्चालन गर्न पत्राचार गरेकोमा त्यसलाई अटेर गरी लादोबेलास्थित नयाँ कार्यालयबाट कार्य गर्दै आएका छन् । 

यता, यस सम्बन्धमा वडाध्यक्ष साहले आफूले कानुनसम्मत तरिकाले वडाको काम सञ्चालन गरिरहेको दाबी गरेका छन् । उनले भने, 'बिन्धीमा वडा कार्यालयको निजी भवन नहुँदा अव्यवस्थित रहेका कारण कार्य गर्न असहजता भइरहेकाले तत्कालका लागि लादोबेलास्थित गोविन्द सेवा समितिमा कार्यालय सारिएको हो । पछि आफ्नो भवन भएपछि त्यहाँबाट सञ्चालन हुने हो ।'

उनले यसअघि पूर्व वडाध्यक्षले दुई/दुई पटक वडा कार्यालयको निजी भवन निर्माणका लागि उपमहानगरले उपलब्ध गराएको बजेट फ्रिज गराइसकेको बताए । वडामा रहेको ९०३ नम्बर कित्ताको जग्गा अलपत्र परेको अवस्थामा भवन निर्माणका लागि ३५ लाख रुपैयाँ बोर्ड निर्णयबाट बजेट निकासा गर्न लगाएको र चाँडै भवन निर्माण निर्माण गरी त्यहाँ स्थायी कार्यालय सञ्चालन हुने उनकाे भनाइ छ ।

वडाध्यक्ष साहले भने यस वडामा काम गर्न असहज रहेको र केही व्यक्तिले राजनीतिक ईर्ष्या निकाल्न हरेक कुरालाई मुद्दा बनाएर काम गर्नबाट रोक्न खोज्ने गरेको गुनासो समेत गरे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x